तराईमा शीतलहर सुरु

इटहरी- दुई दिनदेखि लगातार बाक्लो हुस्सु लागेर घाम देख्न नपाएका सुनसरीवासीले आज बिहानैदेखि शीतलहरको सामना गर्नुपरेको छ। सिमसिम पानी परेजस्तै गरेर शीतलहर परेकाले मानिसले निकै जाडोको महसुस गरिरहेका छन्। बाक्लो हुस्सुसँगै शीतलहरसमेत पर्न थालेकाले किसानहरूमा चिन्ता बढेको छ। शीतलहर चलेपछि हरियो सागपात, आलु, लहराजन्य तरकारी खेतीमा नराम्रो असर पर्ने भएकाले किसानमा चिन्ता बढेको हो।
तरकारीखेतीका लागि पकेट क्षेत्र मानिएको सुनसरी जिल्लामा सबैभन्दा बढी उत्पादन हुने आलुलाई धेरै नोक्सानी पुग्न सक्ने अनुमान गरिएको छ। जिल्ला कृषि विकास कार्यालय सुनसरीले हुस्सु र शीतलहरका कारण आलुबालीमा प्रतिकूल प्रभाव परेर उत्पादन घट्न सक्ने बताएको छ।
लामो समयसम्म यस्तै मौसम रहे औषधि छर्कंदा पनि आलुको बोट बचाउन सक्ने अवस्था नरहने बताइएको छ। जिल्लाको प्रकाशपुर, मधुवन, डुम्राहा, बबिया, कप्तानगन्ज, देवानगन्ज, सिँगिया, नरसिंह, औरावनीलगायतका गाविसमा ठूलो परिमाणमा उन्नत जातको आलुखेती गरिँदैआएको छ। आलुसँगै भान्टा, करेला, कोपी, सिमी र बोडीमा समेत हुस्सु र शीतलहरले असर पार्न सक्ने किसानको भनाइ छ। रासस

Leave a Reply

Your email address will not be published.