‘पल्सर स्पोर्ट्स अवार्ड–२०७०’ : अब्बललाई अवार्ड

 Saraswati Chaudhary-Popular Player of the year-14

कमल खत्री- क्रिकेटले वर्चस्व जमाएको ‘पल्सर स्पोर्ट्स अवार्ड–२०७०’ मा राष्ट्रिय क्रिकेट टिमका शरद भेषावकरले विशेष पुरस्कार पाए। पुरस्कार पाएपछि शरदले बोलेका केही शब्दले प्रज्ञा भवनमा उपस्थित सबै अतिथिको ध्यान उनीतिर तानियो। नेपाली क्रिकेटमा आक्रामक फिनिसरको छवि बनाएका शरदले आफ्नी आमाका कारण सफलता प्राप्त गरेको बताए। शरदले भने, ‘सबैले सोध्छन् कसरी त्यत्रो लामो सट हानेको? मेरो जवाफ हुन्छ– आमाले पकाएको खानाले गर्दा। घरको खानामा धेरै शक्ति हुन्छ। मलाई यहाँसम्म पुर्याणउनमा आमाको महŒवपूर्ण भूमिका छ। अहिले मेरी आमा यसै हलमा कतै बसेकी छिन्।’ भावुक हुँदै शरदले आमाको प्रशंसा गरेपछि प्रज्ञाभवनमा उपस्थित सम्पूर्ण अतिथिले उनकी आमालाई उठेर सम्मान गरेका थिए।
नेपाल खेलकुद पत्रकार मञ्चले १२ वर्षदेखि निरन्तर गर्दै आएको स्पोर्ट्स अवार्डअन्तर्गत विशेष अवार्ड यसअघि तेक्वान्दोका कीर्तिमान खेलाडी दीपक विष्टले पाएका छन्। मञ्चले खेलमा विशेष प्रर्दशन गर्ने खेलाडीलाई विशेष अवार्ड प्रदान गर्दै आएको छ। युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा ठूला सट खेल्दै सानदार फिनिसिङ गरेका कारण शरद विशेष पुरस्कारका हकदार बनेका हुन्।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको ‘पुरुष खेलाडी’, प्रशिक्षक पुबुदु दासानायके ‘वर्ष प्रशिक्षक’ र क्रिकेट टिमलाई ‘टिम अफ द इयर’ को ट्रफी प्रदान गरियो। नेपालको विश्वकप क्रिकेट खेल्ने सपना पूरा गरेका कप्तानले स्पोर्ट्स अवार्डमा पनि नयाँ कीर्तिमान बनाए। स्पोर्ट्स अवार्डमा तीन पटक उत्कृष्ट पुरुष खेलाडी हुने पारस पहिलो खेलाडी हुन्। यसअघि तेक्वान्दोका दीपक विष्ट र एथलेटिक्सका राजेन्द्र भण्डारीले दुई पटक वर्ष पुरुष खेलाडीको उपाधि हात पारेका थिए।
अवार्ड पाएपछि पारसले टिम र प्रशिक्षकलाई विशेष धन्यावाद दिए। ‘म ज्यादै खुशी छु। स्पोर्ट्स अवार्ड कहिले हुन्छ भनेर नेपाली खेलाडीले पर्खिरहेका हुन्छन्। यो अवार्ड पाउनु मेरो लागि गर्वको विषय हो,’ पारसले भने, ‘मेरो टिमका साथी र प्रशिक्षक पुुबुदुका कारणले क्रिकेटले विश्वकप खेल्ने सपना पूरा गरेको हो।’
‘यस्तो अवार्डले खेलाडीको हौसला बढाउँछ। हामी चाहन्छौँ नेपालले हरेक विश्वकप क्रिकेट खेलोस्,’ पारसले थपे, ‘तपार्इंहरूको हौसला र साथ पाइरहे भने हामी नेपाललाई सधैँ विश्वकप क्रिकेट खेल्ने स्थितिसम्म पुर्या उने कोसिस गर्छौं।’award winners group photo-21
जुडोकी सुनिता बोहरा महिलातर्फ उत्कृष्ट खेलाडीबाट सम्मानित भइन्। जुडोले पहिलो पटक ‘उत्कृष्ट महिला खेलाडी’को अवार्ड जितेको हो। सुनिता सातौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा नेपालबाट एकमात्र स्वर्ण पदक जित्ने खेलाडी हुन्।
लोकप्रिय खेलाडीमा यसपल्ट पनि भलिबलले आफ्नो प्रभावलाई निरन्तरता दियो। भलिबलकी क्विक स्पाइकर सरस्वती चौधरीले वर्षको ‘लोकप्रिय खेलाडी’को उपाधि जितिन्। यसअघि भलिबलकी मञ्जु गुरुङ, सिपोरा गुरुङ र रमिला तन्डुकारले लोकप्रिय खेलाडीको पुरस्कार थापिसकेका छन्।
साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध सनसनीपूर्ण खेल गरेका युवा स्ट्राइकर विमल घर्तीमगरले ‘युवा वर्ष खेलाडी’ पुरस्कार पाए। कीर्तिमानी धावक वैकुण्ठ मानन्धर ‘लाइफटाइम एचिभमेन्ट’ अवार्डबाट सम्मानित भए। दक्षिण एसियाली खेलकुदमा म्याराथनमा स्वर्णमा ह्याटि्रक गरेका मानन्धरले सन् १९८७ मा कोलकातामा बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्ड दक्षिण एसियाली कीर्तिमानलाई अझै कसैले उछिन्न सकेको छैन। तेक्वान्दोका यादव कुँवरले ‘पारा एथलिट वर्ष खेलाडी’ भए। कुँवर चौथो डब्लूटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक र फाइटिङ स्पिरिट पुरस्कार जित्ने खेलाडी हुन्।
वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र लोकप्रिय खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गरे।

Leave a Reply

Your email address will not be published.