उडान ठप्प हुँदा बिरामीलाई कठिनाइ

बारा- बारा जिल्लाको सिमरा विमानस्थलमा दुई दिनदेखि विमान उडान हुन सकेको छैन। विमान उडान तथा अवतरणका लागि आवश्यक पर्ने भिजिविलिटी विमानस्थलमा नभएपछि दुई दिनदेखि उडान हुन नसकेको सिमरा विमानस्थलले जनाएको छ। सिमरा विमानस्थलमा उडान वा अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्ने सिमरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताए।
आज पाँच सय र हिजो एक हजार एक सय मिटर मात्र भिजिविलिटी भएको कारण काठमाडौं–सिमरा दैनिक पाँच उडान गर्दै आएको बुद्ध एयरले एक उडान पनि गर्न सकेको छैन। उडान हुन नसकेपछि दुई दिनमा २०० यात्री प्रभावित भएका छन्।
सवारीसाधनमा लैजान नमिल्ने बिरामीलाई हवाइजहाजबाट लैजाने प्रयासमा बसेका सर्लाही बागमतीका चिरञ्जीवी पाठक भन्छन्— आमाको पेटको शल्यक्रियाका लागि काठमाडौँ लैजान हिजोदेखि विमान कुरेर बसेको छु। तर, मौसमले गर्दा विमान आउन नसक्दा गार्‍हो भएको छ। दुई दिन विमान उडान हुन नसक्दा विमानस्थलले ८० हजार र विमान कम्पनीले करिब रु आठ लाख नोक्सानी बेहोर्नुपरेको प्रमुख गौतमले बताए।
हावा चले वा पानी परे मौसम खुल्न सक्ने अन्यथा दुई चार दिन यस्तै हुन सक्ने विमानस्थलले जानकारी दिएको छ। आजको दिन ओसिलो भएकाले भोलि मौसममा सामान्य सुधार आउनसक्ने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.