प्रेमी–प्रेमिकाले गरे आत्महत्या

फलेवास, पर्वत- विवाह गरेर सँगै जीवन बिताउने चाहना पूरा नभएपछि एक जोडीले आत्महत्या गरेका छन्। आफूले मन पराएर विवाह गर्न खोजेकी युवतीले आत्महत्या गरेको खबर सुनेपछि युवकले पनि आत्महत्या गरेका हुन्। विवाहका लागि केटीका घर आएकाहरूलाई बाबुआमाले बिहे गरिदिन नसक्ने भन्दै फर्काएपछि पर्वतको धाइरिङ गाविसका एक युवती र म्याग्दीको पुलाचौर–३ का युवक दुवैले छुट्टाछुट्टै स्थानमा आत्महत्या गरेका हुन्।
धाइरिङ गाविस–१ की २१ वर्षीया युवती देवी आचार्य र पुलाचौर गाविस–३ का २४ वर्षीय केशव शर्मा पौडेलले आत्महत्या गरेका हुन्। देवी आचार्यले सोमबार दिउँसो ३ बजे घरनजिकै आत्महत्या गरेको खबर सुनेपछि पौडेलले मङ्गलबार बिहान ४ बजेतिर आत्महत्या गरेका हुन्। दुवैले झुन्डिएर आत्महत्या गरेका बताइएको छ।

एक साता पहिला विवाहको प्रस्तावलाई केटीतर्फबाट अस्वीकार भएको थियो। दुवैजना एक वर्ष अगाडिसम्म म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत थिए। सोही समयमा दुवैबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धलाई उनीहरूले मागी विवाहमा परिणत गर्न खोजेको बुझिएको छ।
घरबाट घाँस काट्न भनी निस्किएकी देवी आचार्य मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। शर्माले गोठमा रहेको गोरुको दाम्लो फुकाएर पासो लगाई आत्महत्या गरेको स्रोतले जनाएको छ।
आचार्यको जिल्ला अस्पताल पर्वतमा शव परीक्षणपछि दाहसंस्कारसमेत भइसकेको छ भने पुलाचौरका शर्माको शव आफन्तले बुझिसकेका छन्। रासस

Leave a Reply

Your email address will not be published.