नोवेल शान्ति पुरस्कार प्रदान

ओस्लो, एजेन्सी)– युरोपेली महासङ्घ (इयू) लाई आज नोवेल शान्ति पुरस्कार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। करिब ६ दशकपछि पहिलो पटक आर्थिक मन्दीको चरम सङ्कट भोगिरहेको सो संस्थालाई सन् २०१२ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको निर्णय यसअघि नै घोषणा गरिएको थियो।
अरु विधाका नोवेल पुरस्कारहरु पहिल्यै वितरण गरीसकिएको छ। तर नोवेल शान्ति पुरस्कार भने आजका दिन (डिसेम्बर १० तारिखमा) प्रदान गरिने नियमानुसार आज औपचारिक रुपमा हस्तान्तरण मात्र गरिएको हो।
इयूले विश्वमा आर्थिक समृद्धिमार्फत शान्ति कायम गर्नका लागि उल्लेख्य भूमिका निर्वाह गरेकोमा सन् २०१२ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको हो।
नर्वेको राजधानी ओस्लोमा आज आयोजित एक विशेष समारोहमा नोवेल समितिका अध्यक्ष थोबजर्न जागल्याण्डले इयूका अध्यक्ष हर्मन भान रोम्पुइ, युरोपेली आयोगका अध्यक्ष जोस मानुअल बारोसो र युरोपेली संसदका अध्यक्ष मार्टिन स्कुल्जलाई सो पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published.