नारायण ढुङ्गाना, चितवन- पर्यटकीय मनोरमताले चिनिएका देशका धेरै स्थानसँगैको अर्को नाम चितवनको सौराहा पनि हो। सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यमा पर्छ। पर्यटक तान्नेमध्ये पृथक परिचय पाएको सौराहा आफैंमा भरिपूर्ण छ। बिहानीको झुल्कँदो घामदेखि राप्ती नदीको तालमा तैरिएको अस्ताउँदो घामको दृश्यावलोकन गर्दासम्म अनुभव गर्न सकिने हरेक गतविधिले पर्यटकको मन छुन्छ। बिहान घामझुल्के लगत्तै किनारमा घाम ताप्ने र साँझको सूर्यास्त हेर्न पर्यटकको लहर नै लाग्छ।
राति देखिने स्थानीय संस्कृति र शान्त वातावरणले आगन्तुकलाई ताजै बनाइदिने क्षमता सौराहामा छ। हात्तीमा सयर गरेर जङ्गलमा गैँडाको तस्वीर कैद गर्ने चाहना धेरैको हुन्छ। “यो अवसर सायदैले गुमाउँछन्” होटल व्यवसायी राममणि खनालले भन्नुभयो, “अन्य क्षेत्रभन्दा सौराहामा थप आकर्षण पनि छ।”
एक मात्रै गन्तव्य गैँडा र हात्तीलाई नजिकबाट नियाल्ने अनि हात्तीसँग रमाउने चाहनामा आएका पाहुनाहरूका लागि मध्यवर्ती क्षेत्रमै त्यो अवसर मिल्छ। स्थानीय थारु संस्कृतिसँगै देखिने स्थानीय स्टिक र मयुरनाचले अर्काे पटकका लागि स्वागत गरेको आभास पर्यटकलाई हुन्छ।
अहिलेको जाडोको मौसम ढकमक्क कुहिरोलाई छेडेर झुल्किएको घामसँगै चिरबिर चराको आवाज अनि लम्किदैँ गरेको हात्ती, उँट, दौडिएको टाँगा। राप्ती किनारका मनोरम दृष्टमा यताउता हल्लिरहेका काठे डुङ्गा त्यसपछि नदीमा हात्ती बाथमा रहाउँदै गरेका पर्यटक। यस्तैयस्तै दृश्यले मन टोलाइदिन्छ यहाँ।
“हात्ती बाथ हेर्न पुगेका पर्यटकहरूको स्वयम्ले अनुभव नगरी मनै मान्दैन” क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष नारायण भट्टराईले भने। माहुतेको इसारामा हात्तीले सुँडमा च्यापेर ल्याएको पानीको फोहरा अनुहार र छातीमा छर्दा आनन्द लाग्ने घुम्न आएका ब्रिटेनी पर्यटक डेबिटले बताउनुभयो। हात्ती बाथको दृश्य हेर्न राप्ती किनारका पर्यटकलाई एकै स्थानमा एकत्रित पारिदिन्छ।
त्यसपछि अजङ्गको हात्तीको पिठ्युँमा बसेर जङ्गल सयर गर्नुको आनन्द नै अर्कै हुने पर्यटकहरू बताउँछन्। चरा अवलोकनकै लागि पनि पर्यटक आउने विज्ञ बासु बिँडारीले बताए।
नजिकै रहेको सौन्दर्यले भरिपूर्ण चितवन राष्ट्रिय निकुञ्जमा देखिने प्राकृतिक छटामा पर्यटक भुल्ने अर्को विशेषता हो। जङ्गलको घुमाइ, जिप सफारी अनि प्रकृतिसँग जुध्दै डुङ्गा सफारीको प्याकेजले उत्तिकै आनन्द मिल्दछ।
गच्छे अनुसारको होटल, रिसोर्ट अनि चाहे अनुसारको खानाका परिकार यहाँको विशेषता भएको व्यवसायी गिरिधारी चौधरीले बताए। द्वन्द्वबाट खस्किएको पर्यटन व्यवसाय शान्ति प्रक्रियासँगै उकासिंदै आएको यहाँ अहिले अफ सिजनमा समेत पर्यटको अभाव देखिदैन।
होटलको सङ्ख्या थपिनु अनि मजदुरलाई बेतलवी बिदा दिने बाध्यता टरेकाले पनि आगन्तुकको आँकलन गर्न गाह्रो हुँदैन। एक जना महिला पथप्रदर्शक डोमा पौडेल अहिलेको अवस्था मजदुरदेखि मालिक हुँदै पर्यटक पनि सन्तुष्ट भएको बताए।
यहाँ खुलेको सुविधा सम्पन्न ८० होटलमा दैनिक दुई हजार पर्यटक राख्ने क्षमता छ। अहिले ती होटल लगभग भरिने गरेको छ। दर्जनौं पव रेष्टुरेन्टमा रमाउने पर्यटकका लागि नयाँ पव थपिनुले पनि आगन्तुकको सङ्ख्या एकिन गर्न गाह्रो छैन्।
चिसो मौसमको सुरुवातसँगै देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको सङ्ख्या बढ्दो छ। यतिबेला यहाँ २५ देखि ४० प्रतिशतसम्म पर्यटक बढेको व्यवसायीहरूले बताए। कोही तीन दिनको र कोही पाँच दिनको भ्रमणका लागि पर्यटक सौराहा पुग्ने गरेको व्यवसायी तथा क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष शङ्कर सैंजुले बताउनुभयो। कहिलेकाही क्षमताभन्दा बढी पर्यटक आउँदा व्यवसायीलाई हम्मेहम्मे पर्दछ उनले भने।
विदेशीसँगै आन्तरिक पर्यटकको भिड पनि सौराहामा उस्तै रहेको पूर्व अध्यक्ष सैंजुले बताए। “चिनीया र आन्तरिक पर्यटकको आगमन यसपटक वर्षैभरि राम्रो रह्यो” उहाँले भने, “अहिले भने तीबाहेक जर्मन, डच र भारतीय पर्यटकको सङ्ख्या पनि बढ्दो छ।”
पर्यटनका लागि शान्ति प्रक्रिया पहिलो फलिफाप भएको पर्यटन व्यवसायी गिरिधारीले चौधरीले बताए। “युद्धपछिको शान्तिले विदेशमा राम्रो सन्देश दिएकाले पनि पर्यटक आगमन नेपालमै बढेको छ” उहाँले भन्नुभयो, “नेपालमा पर्यटक बढ्नु भनेको सौराहामा पर्यटक बढ्नु हो।”
“एकपल्ट नेपाल आएका पर्यटक चितवन राष्ट्रिय निकुञ्जका गैँडा, हात्ती नहेरी फर्कन्नन्, त्यसैले पनि सौराहा पर्यटकका मामलामा भाग्यमानी छ” व्यवसायी चौधरीले भने।
निकुञ्जमा जिप सफारी, हात्तीबाट वन सफारी, डुङ्गा सयर, जङ्गल घुमफेर, हात्ती प्रजनन् केन्द्र अवलोकन, निकुञ्जका गोही प्रजनन, कछुवा संरक्षण र गिद्ध संरक्षण केन्द्र अवलोकन गर्दै जाडोमा न्यानो घाम पाउन पनि सौराहा उत्तम छ।
निकुञ्ज घुम्दा देखिने पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर पन्क्षीहरूले पर्यटकको मन जित्ने गरेको छ। पर्यटक आउँदा सौराहाका पव, रेष्टुरेन्टका छाप्राहरू पनि भरिभराउ देखिन्छन् अचेल। दुईदर्जन बढी पव र रेष्टुरेन्टका खाना चाख्दै जाडोमा आगो ताप्दै पर्यटकहरू राप्ती किनारमा रमाउने गर्छन्। रासस