प्रतिभा पलायनप्रति प्रमको चिन्ता

बनेपा- काठमाडौं विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकबाट प्रतिभा पलायन भइरहेकामा चिन्ता व्यक्त गरेका छन्। काठमाडौँ विश्वविद्यालयको १८औं दीक्षान्त समारोहलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले प्रतिभा पलायन मुलुकका लागि गम्भीर समस्या भएको बताए। विद्यार्थीको विदेश पलायनका कारण शिक्षामा भएको लगानीको प्रतिफल आउन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले युवा पुस्तामा राष्ट्रियता र त्यागको भावना नभए मुलुकले फड्को मार्न सक्दैन भने। 
दीक्षित भएका विद्यार्थीलाई व्यक्तिगत र क्षणिक फाइदाबाट माथि उठेर काम गर्न आग्रह गर्दै उनले मुलुक र जनताको हितमा काम गरे त्यसले गरिबी न्यूनीकरणमा सहयोग गर्छ भने। प्रधानमन्त्री डा भट्टराईले शिक्षित युवाको आचरण अनुशरणयोग्य हुनुपर्नेमा जोड दिँदै युवाको काँधमा गहन जिम्मेवारी र दायित्व थपिएको बताए।
देशको समसामयिक राजनीतिबारे बोल्दै उनले शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको वर्तमान अवस्थामा नयाँ संविधानका लागि आगामी वैशाखमा निर्वाचन आवश्यक भएको र त्यसका लागि दलहरूबीच राष्ट्रिय सहमति जरुरी भएको बताए।
उनले सहमति नभए जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका उपलब्धि खतरामा पर्ने पनि बताए। पूर्व गभर्नर तथा अर्थशास्त्री हिमालय शम्शेर राणाले राजनीतिक अस्थिरताले गर्दा नेपालको सामाजिक र आर्थिक उन्नति हुन नसके पनि शिक्षा, स्वास्थ्य र मानव–संसाधनको विकासमा राम्रै उन्नति भएको छ भने।
उपकुलपति डा सुरेशराज शर्माले सबै भौतिक पूर्वाधार आफ्नै तागतले सिर्जना गर्छौं, आफूलाई चाहिने ऊर्जा आफैँ निकाल्छौँ, आफूलाई आवश्यक खाद्यवस्तु, लत्ताकपडा र निर्माण–सामग्री आफ्नै माटोमा उभ्याउछौँ भन्ने सङ्कल्प सबै नेपालीले गर्नुपरेको छ भने।
समारोहमा व्यवस्थापनका ३७४ जना, विज्ञानका १५६ जना, इन्जिनियरिङका १७५ जना, आर्टस्का १८० जना, शिक्षाशास्त्रका १०८ जना र चिकित्साशास्त्रका स्नातकोत्तर र त्यसभन्दा माथिका १४२ जना गरी जम्मा एक हजार १३५ जना विद्यार्थी दीक्षित भएका छन्।
दीक्षित हुने विद्यार्थीमध्ये ९४ जना अर्थात् ८.२८ प्रतिशत विद्यार्थी भारत, बङ्गलादेश, पाकिस्तान, जाम्बिया, मौरिसस, अस्ट्रेलिया, अस्ट्रिया, नेदरल्यान्डस, चेक गणतन्त्र, रुस, स्विडेन, फ्रान्स, क्यानाडा र अमेरिका गरी १४ देशबाट आएका हुन्। दीक्षित स्नातकहरूमध्ये ४३ प्रतिशत महिला छन्। यसपटकसमेत गरी काठमाडौँ विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्तिको सङ्ख्या १३ हजार ८५६ पुगेको छ। रासस

Leave a Reply

Your email address will not be published.