मध्यरात फोन गरेर बोलाइएका कञ्चनपुरका घुम्मन चौधरी बेपत्ता

कञ्चनपुरको कृष्णपुर-७ सिंहपुरका अन्दाजी वर्ष ३५ का घुम्मन चौधरी चार दिनदेखि बेपत्ता छन्। चिनजानका व्यक्तिले फोन गरेर बोलाइएका चौधरी घर नफर्केपछि आफन्त र प्रहरीले चौधरीको खोजी गरे तर फेला परेन। फोनकर्ताले चौधरीलाई बुधबार राति १२ बजे अत्यन्त जरुरी काम परेकाले भेट्न भनेपछि उनी घरबाट निस्केका थिए। Apharan
चौधरीका परिवारका अनुसार उनले फोनकर्तालाई टाढा भेट्न नसकिने तर राजमार्गसम्म भेट्न सकिने बताएपछि उनलाई राजमार्गमै भेट्न भनिएका थियो।
चौधरी राजमार्गमा फोनकर्तालाई भेट्न गएपछि घर फर्केर आएन। उनको अपहरण भएको आशङ्का गरिएको छ।
चौधरीले केही दिनअघि मात्रै रु १२ लाखमा जग्गा बिक्री गरेकाले जग्गा बिक्री गरेको रकम हात पार्न उनको अपहरण गरिएको हुनसक्ने स्थानीय बासिन्दाको भनाइ छ।
प्रहरी स्रोतका अनुसार घटनामा प्रयोग भएको मोबाइल फोनका मालिक कृष्णपुरकै परमानन्द भट्टलाई पक्राउ गरी अनुसन्धान कार्य सुरु गरिएको छ। भट्टले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा अपरिचित व्यक्तिहरुले पेस्तोल कञ्चटमा लगाएर मोबाइल फोन खोसेर लगेको बताएको स्रोतले जानकारी दिएको छ। फोन खोसेर लैजाने व्यक्ति को हुन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले चौधरी बेपत्ता भएको घटना निकै गम्भीर भएकाले अनुसन्धान र खोजी कार्यलाई गहनरुपमा अगाडि बढाइएको बताए।
‘घटना निकै गम्भीर प्रकृतिको भए पनि चाँडै अपराधी पत्ता लगाएर सार्वजनिक गर्छौं,’ उनले भने। रासस

Leave a Reply

Your email address will not be published.