दुईसय ३० वर्षपछि राममन्दिरको पुनःनिर्माण

जनकपुरधाम- धार्मिक ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण मानिएका जनकपुरस्थित भगवान् श्रीराम मन्दिरको २३० वर्षपछि पुनःनिर्माण भएको छ। मन्दिर पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगे पनि मन्दिरमाथि राखिने सुनको जलप लागेको छानो राख्नेबारे पुरातत्व विभाग, गुठी संस्थान तथा बृहत्तर जनकपुर क्षेत्र विकास समितिबीच आन्तरिक विवाद उत्पन्न भएको छ।
मन्दिर पुनःनिर्माणका लागि गुठी संस्थानले रु २० लाख, बृहत्तर जनकपुर क्षेत्र विकास समितिले रु २० लाख र पुरातन्व विभागले रु ८० लाख दिए पनि मन्दिरमाथि छाना राख्दा सुनको जलप कसले राख्नेबारे तीनवटै संस्थाबीच मत बाझिन गएको छ।
करिब दुई हजार ३०० स्क्वायर फिटको सो छानोमा रु तीन करोड ७५ लाख मूल्य बराबरको करिब ५७५ तोला सुन तथा करिब एक हजार ५०० स्क्वायर फिट तामा लाग्ने पुरातत्व विभागका इन्जिनियर नारायण बोहराको भनाइ छ।
सुन खरिद गर्न थुप्रै रकम लाग्छ जुन पुरातत्व विभागसँग छैन, गुठी संस्थानले राखे पनि हुन्छ इन्जिनियर बोहराले भन्नुभयो– “रकमको व्यवस्था भए तामामाथि सुनकै जलप लगाएको छानो राख्दा हुन्छ।”
मन्दिरको छानामाथि पहिलेदेखि राखिएको सुन काम नलाग्ने भएको र बेच्दा कवाडीको भाउमा बिक्री हुने भएकाले अहिले सुरुमा तामाको छानो राख्ने तथा पछि रकमको व्यवस्था भएमा सुनकै जलप लगाउने सोचमा पुरातत्व विभाग रहेको बोहराको भनाइ छ।
अठारौँ शताब्दीमा महन्थ चतुर्भुज गिरीले स्थापना गर्नुभएको राम मन्दिर विसं १८९९ मा अमरसिंह थापले जीर्णोद्वार गर्नुभएको उक्त मन्दिर २३० वर्षपछि पुनःनिर्माण भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.