प्रहरी जवान पदको नयाँ भर्ना छनोट प्रक्रिया सुरु

चितवन- मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा प्रहरी जवान पदको नयाँ भर्ना छनोट प्रक्रिया आजबाट सुरु भएको छ। यसअघि आर्थिक प्रलोभनमा प्रहरी छनोट हुने गरेको गुनासो आएपछि तालिम केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक प्रलोभनमा पार्नेहरूप्रति सतर्क रहन सबैमा आग्रह गरेको छ। 
सो अवसरमा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र श्रेष्ठले आर्थिक कारणबाट कुनै पनि हालतमा छनोट प्रक्रिया प्रभावित नहुने बताए। उनले प्रधान कार्यालय र जिल्ला प्रशासनको रोहबर र लोक सेवा आयोगको निगरानीमा छनोट प्रक्रिया अगाडि बढाइने हुँदा योग्य व्यक्ति मात्रै छानिने बताए।
यसवर्ष आवेदन कम परेको छ। १ सय ९३औं यस समूहका लागि आठ हजार ७०६ जनाले निवेदन दिएको सो अवसरमा जानकारी गराइयो। गतवर्ष १२ हजार २९१ जनाले आवेदन दिएका थिए। पाँचवटै तालिम केन्द्रमा एकैसाथ भर्ना खोलिएकाले आवेदन दिनेको सङ्ख्या कम भएको समादेशक श्रेष्ठले बताए। रासस

Leave a Reply

Your email address will not be published.