एमाओवादी अधिवेशनको चटारो

कृष्णराम परियार, हेटौंडा- एकीकृत नेकपा (माओवादी) ले दुई दशकपछि हेटौँडामा आगामी माघ २० गतेदेखि आफ्नो राष्ट्रिय महाधिवेशन गर्न लागेकामा मकवानपुरका उद्यमी, व्यापारी, नागरिक समाज, कृषक, मजदुर विभिन्न राजनीतिक दल तथा हेटौँडा नगरवासी हर्षित देखिएका छन्। बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि मध्यमाञ्चलको क्षेत्रीय सदरमुकाम हेटौँडामा ठूला राजनीतिक दलमध्ये एमाओवादीद्वारा आयोजना गरिने राष्ट्रिय महाधिवेशन दलहरूको पहिलो अधिवेशन नै हुनेछ। नारायणी अञ्चलका पाँच जिल्ला बारा, पर्सा, रौतहट, चितवन र मकवानपुरमध्ये मकवानपुरको पनि सदरमुकाम हेटौँडा राजनीतिक रुपले सचेत क्षेत्र मानिन्छ। यहाँस्थित दामन ‘थाहा’ आन्दोलनको उद्गमस्थल हो, जसका अगुवा रुपचन्द्र विष्ट दामनमै जन्मेका थिए।

नेपालको दोस्रो आर्थिक राजधानी, पूर्वपश्चिम राजमार्गको केन्द्रविन्दु, कान्तिराजपथ(लपु टीकाभैरव–हेटौँडा), त्रिभुवन राजपथ(काठमाडौँ–हेटौँडा),मदन भण्डारी राजपथ(दक्षिणकाली–कुलेखानी–हेटौँडा), गणेशमान राजमार्ग(थानकोट–चित्लाङ) र द्रुतमार्ग(काठमाडौँ–निजगढ) र सुरुङमार्ग(कुलेखानी–हेटौँडा) को सङ्गम, दामन–सिमभन्ज्याङ–चित्लाङ जस्ता पर्यटकीय क्षेत्र, कुलेखानी जलविद्युत् केन्द्र र इन्द्रसरोवर, हेटौँडा औद्योगिक क्षेत्र, चिसापानीगढी–मकवानपुरगढी–भीमफेदी जस्ता ऐतिहासिकस्थल, चुरियामाई, ऋषेश्वर महादेव र भुटनदेवी मन्दिर इलाका र आदिवासी तामाङ तथा लोपोन्मुख दनुवार राई, पहरी, चेपाङ र वनकरिया जाति आदिले यो क्षेत्र परिचित छ।
नेपालभरमै सबभन्दा बढी ट्रक, ट्यांकर र बस व्यवसायी हेटौँडाकै रहेको बताइन्छ। हेटौँडा सहिद स्मारक, भीमफेदी हात्तीसार सङ्ग्रहालय र वनविज्ञान अध्ययन संस्थान वन्यजन्तु सङ्ग्रहालयले पनि हेटौँडाको गरिमा बढाएको छ। प्रसिद्ध गीतकार भीम विरागको कर्मभूमि हेटौँडामा हुने पार्टी अधिवेशनले साहित्यिक तथा सांस्कृतिक गतिविधि पनि बढ्ने साहित्यकार तुलसी थापा बताउनुहुन्छ। यही मङ्सिर ११–२६ गतेसम्म हर्नामाडी गाविसस्थित गुम्बाडाँडामा विदेशी र स्वदेशी कलाकारहरूको ‘अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला’ पनि चलिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यालय र राजधानीमा उपलब्ध ब्युरो इन्चार्जको संयुक्त बैठकले पार्टी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। यसअघि एमाओवादीले पार्टीको महाधिवेशन आगामी माघ ११ गतेदेखि काठमाडौँमा गर्ने निर्णय सार्वजनिक गरेको थियो।
एमाओवादी मकवानपुरका इन्चार्ज एवम् पार्टी सचिव सोनामसिंह स्याङ्तान हेटौँडामा हुने पार्टीको महाधिवेशनले यस क्षेत्रलाई राजनीतिक रुपमा अझै चिनाउने र जिल्लामा राजनीतिक सद्भावना अभिवृद्धि हुने बताउनुहुन्छ। महाधिवेशन आयोजना गर्नका लागि उपयुक्त ठाउँको छनोट गर्ने काम भइरहेको जानकारी दिँदै उहाँले महाधिवेशनबाट यस क्षेत्रको दुर्गम स्थानमा यातायात सुविधा बढ्ने र कृषकका उपजले सदरमुकाममा बजार पाउने भई आयआर्जन बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार महाधिवेशनमा करिब आठ हजार केन्द्रीय पार्षद् प्रतिनिधि, विदेश अतिथि, प्रवासी नेपाली सङ्घसंस्था तथा आयोजक समिति गरी कुल १० हजार सहभागी रहने छन्।
पार्टीले महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रहरूका लागि हेटौँडाबाट करिब १२ किमिपूर्व पर्ने गौरीटार रङ्गशाला, हेटौँडास्थित हुप्रचौर खेल मैदान, हेटौँडा वनविज्ञान अध्ययन संस्थानको परिसर र हेटौँडा कपडा उद्योगको पूर्वपट्टिको आवासगृहको खेल मैदान आदिलाई रोज्न सक्ने जनाइएको छ। गौरीटारमा विसं २०४० मा प्रथम राष्ट्रिय अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। हुप्रचौरमा सहिद वासुदेव घिमिरे स्मृति सभागृह बनेको छ भने वनविज्ञानमा नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय महाधिवेशन विसं २०३० र २०३८ मा भएको थियो। त्यस्तै कपडा उद्योगको आवासगृहमा प्रथम नगर खेलकुदका सहभागीलाई राखिएको थियो। विसं २०५४ मा यहाँ नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन आयोजना गरिएकामा आगामी पुस ११–१४ गते अर्को राष्ट्रिय महाधिवेशन यहीँ आयोजना गर्न लागिएको बुझिएको छ।
अखिल नेपाल ट्रेड युनियन(क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रकाश पौडेलले हेटौँडामा हुने पार्टी महाधिवेशनले भविष्यमा मकवानपुर जिल्लालाई औद्योगिक शान्ति जिल्ला घोषणा गर्ने सम्भावना रहेको बताउँदै यसबाट पर्यटनको प्रचुर विकास भई विदेशी मुद्रा आर्जन गर्न मद्दत मिल्ने बताउनुभयो। मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भुवनलाल श्रेष्ठ भने क्षेत्रीय सदरमुकाम हेटौँडामा अझ बहुराष्ट्रिय कम्पनीको थप विस्तार गर्न र स्थानीय कृषकले उत्पादन गरेका मौसमी तरकारी, फलफूल, दूध, पशुपक्षीका मासुको खपतबाट प्रत्यक्ष आर्थिक लाभ पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ।
चौकीटोलस्थित एभोकाडो रिसोर्टका प्रबन्धक निर्देशक भागीरथप्रसाद शर्माले मकवानपुरमा हुने एक प्रमुख राजनीतिक दलको पहिलो महाधिवेशनले पर्यटनको प्रचुर सम्भावना बढ्ने, हेटौँडा र वीरगन्ज जोड्ने बाइपास सडक निर्माण, सुविधायुक्त आवासीय होटलको स्तरवृद्धि तथा आर्थिक गतिविधि बढाउन जिल्लावासीलाई हौसला प्रदान गर्ने बताउनुभयो।
नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष भानुभक्त आचार्यले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, दस्तावेज एवम् मुलुकमा सो पार्टीको राष्ट्रिय राजनीतिक भूमिकासम्बन्धी समाचार र आलेख जनतामा पुर्‍याउन मकवानपुरका सञ्चारकर्मी चनाखो रहेको बताउनुभयो।

मकवानपुर नागरिक समाजका अगुवा लवशेर विष्ट र अधिवक्ता रामनारायण बिंडारीले पार्टीको महाधिवेशनले सो क्षेत्रको आर्थिक समुन्नतिका साथै सामाजिक उत्थान गर्न, राजनीतिक सहमतिको ढोका खोल्न, जिल्लामा औद्योगिक शान्ति स्थापना गर्न र राजधानीबाट हेटौँडा जोडिने सुरुङमार्ग निर्माण अगाडि बढाउन दबाब बढ्ने आशा व्यक्त गर्नुभयो। हेटौँडामा क्षेत्रीय अस्पताल निर्माण गर्नका लागि दबाब दिन पनि नागरिक समाजले यस अवसरलाई उपयोग गर्ने बताइएको छ।
बस यातायात व्यवसायी श्रीचन्द्र शर्मा भन्नुहुन्छ–महाधिवेशनले हेटौँडाको आर्थिक गतिविधि बढ्ने हुँदा हामी खुुसी छौँ, सुरुङमार्गलाई यथाशक्य निर्माण गर्न सकेमा काठमाडौँमा रहेका केही उद्योग–कारखाना यतै स्थानान्तरण गरी राजधानीको वातावरण प्रदूषण हट्ने छ, नारायणी क्षेत्रका बेरोजगारले रोजगारी पाउने छन्, महाधिवेशनले हेटौँडाको आर्थिक विकासका लागि महत्वपूर्ण प्रस्ताव पनि पारित गर्नेमा हामी ढुक्क छौँ। रासस

Leave a Reply

Your email address will not be published.