भ्रष्टाचार र भ्रष्टाचारीले आफूलाई अन्त्य गर्न लागेको प्रधानमन्त्रीको चिन्ता

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार र भ्रष्टाचारीहरुले आफूहरुलाई अन्त्य गर्ने चिन्ता लाग्न थालेको बताएका छन्। राजनीतिक र प्रशासनिक उच्च नेतृत्व तहबाट प्रश्रय पाएको कारण देशमा भ्रष्टाचारका समस्या भयावह बनेको उनले बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस-२०१२ का अवसरमा आज राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री भने, ‘मेरो एक वर्षको अनुभव के छ भने हामीले भ्रष्टाचारलाई अन्त्य गर्न सक्नुपर्नेमा कतै भ्रष्टाचार र भ्रष्टाचारीले नै हामीलाई अन्त्य गर्ने होइनन् कि भन्ने डर लागेको छ।’
भट्टराईले देशको राजनीतिक र प्रशासनिक उच्च नेतृत्व तहबाट प्रश्रय पाएकै कारण भ्रष्टाचार बढेको भन्न हिच्किचाउन नहुने बताए।

“उच्च तहबाटै हुने भ्रष्टाचारजन्य गतिविधिलाई रोक्न कठोर कदम नचाली देशलाई भ्रष्टाचारको दलदलबाट मुक्ति दिलाउन सम्भव छैन”, प्रधानमन्त्री भट्टराईले भने। उनले उचित कानुनी, प्रशासनिकलगायतका आवश्यक व्यवस्था गरी जुनसुकै तह र प्रकृतिको भ्रष्टाचारलाई रोकथाम तथा उन्मूलन नगरी समुन्नत र सुसंस्कृत समाजको निर्माण सम्भव नभएको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्णता दिई भ्रष्टाचार नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन सरकार लागेको भन्दै देशमा विद्यमान राजनीतिक सङ्क्रमण र अस्वस्थ राजनीतिक वातावरणले महत्वपूर्ण संवैधानिक निकायमा नेतृत्वदायी पदाधिकारीको नियुक्ति हुन नसक्नु लज्जाको विषय भएको उनले बताए।

“संवैधानिक अङ्गहरुमा रिक्त पदपूर्तिका लागि आवश्यक संवैधानिक र कानुनी व्यवधान हटाउन सरकारले झन्डै चार महिनाअघि सिफारिस गरेको आदेश र अध्यादेश अहिलेसम्म जारी हुन नसक्नु ठूलो विडम्बनाको विषय भएको छ”, प्रधानमन्त्रीले भने।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको अनुमोदनपछि महासन्धिका प्रावधान कार्यान्वयन गर्न सरकारले हालसालै पाँच वर्षीय राष्ट्रिय कार्ययोजना र रणनीति तर्जुमा गरेको बताउँदै प्रधानमन्त्री डा भट्टराईले यसमा सम्पादन गरिने कार्य, जिम्मेवार निकाय, समयमीमा र अनुगमन गर्नेसहितका १५ उद्देश्य समाहित भएको बताए। रासस

Leave a Reply

Your email address will not be published.