मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको निर्णय

काठमाडौं- सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले विपक्षी दलहरु सहमतिका लागि तयार नभए मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि विपक्षी दलहरु तयार नभए मन्त्रिपरिषद् विस्तार गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको बताएको छ।

विपक्षी दलहरु सहमतिभन्दा पनि सरकारको लागि मात्रै केन्द्रीत भएको निष्कर्ष निकाल्दै गठबन्धनले अझै सहमतिको लागि पहल गर्ने निर्णय गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए।

राष्ट्रपतिले राजनीतिक सहमतिका लागि हिजो थप गर्नुभएको छ दिनको म्यादभित्र सहमति भए गठबन्धनका तर्फबाट सहमतिको लागि अभिकत्तम प्रयत्न गर्ने तर सो समयमा सहमति हुन नसके अब म्याद थप गर्नुको विकल्प नहुने निष्कर्ष निकालेको उनको भनाइ छ।
‘राजनीतिक सङ्कट समाधान गरेर आगामी वैशाखमा निर्वाचन गर्नेतर्फभन्दा पनि विपक्षी दलहरु प्रधानमन्त्रीको कुर्सीका लागि मात्रै केन्द्रीत भएको र त्यसका कारण सहमति हुन नसकेको गठबन्धनले ठहर गरेको छ,’ प्रवक्ता सिंहले भने।

पटकपटक म्याद थपी रहनुभन्दा मन्त्रिपरिषद् विस्तार गर्नु नै उत्तम हुने र त्यसमा गठबन्धनले ‘बोल्ड’ निर्णय गर्नुपर्ने आवश्यकता महसुस गरेको सिंहको भनाइ छ। विघटित संविधान सभाले गरेका कामहरुको अपनत्व गर्न नचाहने विपक्षी दलहरुले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई शुन्यमा झार्न चाहेको कारण सहमतिको सम्भावना टर्दै गएको गठबन्धनले ठहर गरेको छ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीचमा भइरहेको छलफल र संवादको विषयमा जानकारी गराउँदै विपक्षी दलहरु सरकारमा केन्द्रित हुने र अरु विषयहरुलाई प्याकेजमा सहमति गर्न तयार नहुने प्रवृत्ति नै सहमतिको लागि बाधक भएको बताए।

यसैबीच आज बिहान एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको गठबन्धनको सचिवालयको बैठकले विपक्षी दलहरुसँग सहमति कायम गर्नका लागि गठबन्धनका संयोजक समेत रहनु भएका अध्यक्ष दाहाललाई जिम्मा दिएको थियो। रासस

Leave a Reply

Your email address will not be published.