प्रधानमन्त्रीलाई मुसा खुवाउने तयारी

कैलाली- कैलालीका मुक्तकमैया बाबुराम चौधरीलाई यतिबेला टुसुक्क बस्ने फुर्सद छैन। भर्खरै जंगल पुगेर एकगाडा दाउरा ल्याएँ, अब स्वागत सत्कार र भोजको अरु तयारी गनुपर्छ चौधरीले भने, ‘मुसा खोज्न चार–पाँचजनाको टोली खटाइसकेको छु।’ शुक्रबार प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो घरमा बास बस्न आउने पक्का भएपछि चौधरीको चटारो बढेको हो। उनीसँगै परिवारका सदस्य, छिमेकी र जिल्लाका माओवादी कार्यकर्ता आवश्यक तयारीमा जुटेका छन्। थारु संस्कृति अनुसार प्रधानमन्त्रीको स्वागत सत्कार गर्ने चौधरीको तयारी छ। ‘हाम्रो सँस्कृतिमा मुसा र घोंगीको परिकारलाई विशेष मानिन्छ, त्यसैले यो त छुटाउनै भएन नि’ चौधरीले भने।

बिहिबार दिउँसोसम्म उनको घरमा एक किलो घोंगी आइसकेको छ भने बिहिबार बेलुकै, नभएपनि शुक्रबार बिहानसम्म १० र १२ वटा मुसा पनि जम्मा पार्नैपर्छ। प्रधानमन्त्रीलाई मेजमानीसहित खाना खुवाउने सुरले उनले मुसाको छुट्टै तरकारी र चटनी बनाउन लागेका छन्। ‘मुसा पाउन त गाह्रो छ, तैपनि हाम्रो संस्कृति हो जसरी पनि जुटाउनुपर्छ’ चौधरीले भने। प्रधानमन्त्रीले खान त के गर्नुहुन्छ, तैपनि हामीले सत्कार गर्ने कुरा हो, मज्जाले बनाएर दिन्छौं।’
मुसाबाट बन्ने परिकार
चटनी : खेतबाट मारेर ल्याएको मुसाको आन्द्राभुँडी निकालिन्छ। त्यसपछि त्यसलाई झिरमा उनेर आगोमा सेकाइन्छ। पाक्न थालेपछि त्यसलाई बाहिर निकालिन्छ र भुत्ला फालिन्छ। सानो कुचोले सफा गरेर त्यसलाई टुक्रा पारिन्छ। टुक्रा पारेर फेरि सेकाइन्छ र सेकुवा बनाइन्छ। अनि बाहिर निकालेर स्वाद अनुसार नून, तेल, मसला, बेसार, धनिया, खुर्सानी राखेर मोलिन्छ। उतिखेरै जिब्रो नै रसाउने गरी मुसाको स्वादे चट्नी तयार हुन्छ।
तरकारी : थारु समुदायमा धेरैले मुसाको चटनी मन पराउँछन। तर, तरकारीका रुपमा पनि यसको उत्तिकै प्रयोग हुन्छ। अरु पशुपंक्षीको मासु पकाएजस्तै गरी नून, तेल, मरमसला हालेर मुसाको तरकारी पकाइन्छ। भन्टा र लौकामा मुसा मिसाएर बनाइएको तरकारी धेरैले मन पराउँछन।
सेकुवा : आगोमा सेकाएर भूत्ला निकालेपछि काटकुट पारेर त्यसमा नूनमसला हालेर सेकुवाको रुपमा पनि प्रयोग गर्न सकिन्छ। हाँस, कुखुरा, राँगो, भैंसी, खसीको जस्तै मुसाको सेकुवामा पनि अरु खाद्यपदार्थ राखेर स्वादिलो बनाउन सकिन्छ। एउटा मूसाले एकजनालाई मात्र भाग पुग्छ। झोल हालेर बाँड्ने हो भने दुई तीनजनालाई पनि पुर्‍याउन सकिन्छ।

सजिलो छैन मुसा पाउन
धेरैले घरको भन्दा खेतको मुसा मन पराउँछन्। ‘खेतको मुसा पोखरीमा पालेको माछा जस्तो र घरको मुसा खोलामा पाइने माछा जस्तो हो’ थारु संस्कृतिबारे जानकार पत्रकार कृष्णराज सर्वहारीले भने ‘त्यसैले सबैले खेतको मुसा नै खोज्छन्।’
धान पाक्ने बेलामा खेतमा मुसा प्रशस्त पाइन्छ। तर अहिले खेतमा धान छैन। मुसा खोज्न खेतका दुलोदुलो खोतल्नुपर्छ। एकजनाले मात्र मुसा समात्न सक्दैन। पाँच सात जनाकै हूल बाँधेर आवश्यक पासो सहित मुसा समात्न जानुपर्छ।
दुई चार तिरबाट छेकेर, दूलो थुनेर मात्र बल्लतल्ल मुसा समात्न सकिन्छ। बनमा कालिज र मृगको शिकार गर्नुभन्दा पनि मुसा समात्ने काम गाह्रो हुने थारु समुदायको अनुभव छ।
पाहुनाका लागि उत्कृष्ट परिकार
पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा मुसाको परिकारलाई उत्कृष्ट परिकारको रुपमा लिइन्छ। घरमा कोही पाहुना आउँदा सत्कारसाथ मुसाको परिकार पस्कने चलन छ। दाल, तरकारी, कुखुराको मासुसँगै कचौरामा मुसाको चटनी या तरकारी राखिदिए पाहुनाप्रतिको सम्मान हुने उनीहरुको बुझाई छ।
‘थारु समुदायमा पाहुनालाई स्वागत सत्कार गर्दा घोंगीको परिकार र चामलको पिठोबाट तयार पारिने ढिकरीसँगै मुसाको चटनी खुवाउने चलन छ’ पत्रकारले सर्बहारीले भने, ‘एकपटक चाख्ने मान्छे अर्काोपटक पनि पल्किहाल्छ।’ उनका अनुसार पहिल्यै घीन मान्ने मान्छेले खान सक्दैन। तर, घीन नमानी चाख्नेले अर्कोपटक आफैं मुसाको चटनी खोज्छ।

प्रधानमन्त्री भट्टराईका लागि नयाँ भोजन
महिनाको एकपटक जनताको घर जाने क्रममा प्रधानमन्त्रीले यसअघि कहिल्यै नखाएका धेरै परिकारको स्वाद लिइसेका छन्। यसअघि महोत्तरीको मुसहर बस्ती पुग्दा उनले घोंगीको स्वाद लिसेका छन्। यसपटक कैलालीमा बाबुराम चौधरीको घर पुग्दा उनले मुसाको चटनी चाख्ने छन्। मुसाको यो परिकार उनको लागि नयाँ हुनेछ।

प्रधानमन्त्रीका लागि मुसो भेट्टाउन समस्या
आफ्नो गाउँघरमा पाहुना बनेर बास बस्न आउन लागेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई मुसाको परिकार खुवाउने इच्छा पूरा नहुने हो कि भनेर कैलाली टीकापुर (८ का मुक्त कमैयालाई चिन्ता थपिएको छ। थारु समुदायमा पाहुना सत्कार गर्न नभई नहुने मुसाको परिकारको बन्दोबस्त गर्न घरधनी बाबुराम चौधरीले टोली खटाएको तीनदिन भैसक्यो। तर, अरु सबै सरसामानको जोहो भैसके पनि मुसाको भने अझै अत्तोपत्तो छैन।’ घोंगी, सिद्रा, चामल, दाउरा सबै सामान जुटिसक्यो, तर मुसा खोज्ने टोली अझै कन्ट्याक्टमा आएको छैन’ शुक्रबार बिहान अनलाइनखबरसितको कुराकानीमा चौधरीले भने, (’साथीहरु लागेका छन्, बेलुकीसम्म त भेटिएला नि।’

बेलुकीसम्म जसरी पनि मुसाको परिकार जुटाउने चौधरी परिवारको तयारी छ। चौधरीको परिवार, छिमेकी र स्थानीय माओवादी कार्यकर्ता समेत प्रधानमन्त्रीको स्वागत सत्कारमा जुटेको छ। आवश्यक व्यवस्थापनको जिम्मेवारी एकीकृत माओवादीकी निवर्तमान सभासद् सुकदैया चौधरीले लिनुभएको छ। ‘हाम्रो थारु समुदायको परम्परा र संस्कृति जसरी पनि प्रधानमन्त्रीलाई देखाउने योजना छ’ उहाँले अनलाइनखबरसित भन्नुभयो(’अरु आवश्यक परिकारसँगै मुसाको चटनी पनि हुन्छ।’ धान भित्र्याइसकिएको समय भएकाले हिजोआज खेतमा मुसा भेटिन गाह्रो छ। दूलाभित्र खनेर र जंगलको आसपासमा शिकार खेलेर मुसाको बन्दोबस्त गर्नुपर्ने हुन्छ।

घरको भन्दा खेतको मुसा नै बढी प्रचलन हुने भएकाले मुसा खोज्ने जिम्मेवारी पाएको टोलीले खेतकान्ला खनेर जसरी पनि मुसा जुटाउने तयारी गरेको छ । ‘बेलुकीसम्म आवश्यक सबै परिकार तयार हुन्छ’ चौधरीले भन्नुभयो(’हामीले जसरी पनि खुवाउनका लागि मुसाको चटनी बनाउन लागेको होइन, प्रधानमन्त्रीलाई आफ्नो संस्कृति देखाउन लागेका मात्र हौं ।’प्रधानमन्त्रीले मुसाको चटनी खान मन गर्ने हो कि होइन, त्यो पत्तो छैन । तर थारु समुदायमा पाहुनाको स्वागत सत्कारमा नभई नहुने परिकार भएकाले यसको बन्दोबस्त गर्न लागिएको हो । ‘मुसा पाउन त गाह्रो छ, तर जुटाउन त परिगो नि’ घरधनी चौधरीले भने।
अरु परिकार तयार
प्रधानमन्त्रीसहित पुग्ने टोलीलाई स्वागत सत्कारका लागि आवश्यक तयारी पूरा भएको छ। प्रधानमन्त्री बस्ने बाबुराम चौधरीको घर र वरपर सरसफाइ गरिएको छ। स्थानीय माओवादी नेताकार्यकर्ता र छरछिमेकी स्वागतमा जुटेका छन्। बिवाहभोजको भन्दा पनि ठूलो तयारी छ। प्रधानमन्त्रीका लागि मुसाबाहेक अरु सबै परिकार तयार भैसकेको छ। चौधरीका अनुसार अन्निको चामल– ५ किलो, सिद्रा माछाको तरकारी, घोंगी ९शंखेकिरा० को अचार, चामल र मासको पीठोबाट बनाइने ढिकरी र खरिया तथा घुगुरु पकाउने तयारी भैरकेको छ। यस्तै प्रधानमन्त्री पुग्दा थारु संस्कृतिअनुसार नाचगान र झाँकीको प्रदर्शनी गर्ने तयारी पनि छ।
बाबुरामकै खाटमा बाबुराम
प्रधानमन्त्री भट्टराईलाई घरधनी बाबुराम चौधरीले आफू सुत्ने खाटमै सुताउने व्यवस्था मिलाउनुभएको छ। ‘मेरो घरमा डोरीले बनाएको र काठले बनाएको खाट छ। हामी थारु समुदाय धेरै डोरीको खाटमै सुत्छौं। तर, प्रधानमन्त्री आउने भएपछि काठको खाटको व्यवस्था मिलाएको छु। ओढ्ने ओछ्याउने त मैले प्रयोग गर्ने गरेकै हो’ चौधरीले भने।

प्रधानमन्त्रीसँग मित लगाउने इच्छा
आफ्नो नाम र प्रधानमन्त्रीका नाम मिलेकाले चौधरीलाई मित लगाउने ठूलो इच्छा छ। ‘मैले नै अघि सरेर भन्न त मिलेन, उहाँले पहिले भन्नुभयो भने मित लाउँछु’ चौधरीले भन्नुभयो(’मित लाएपनि, नलाए पनि ढकिया उपहार दिने तयारी छ।’
धनगढीमाबाट प्रकाशन हुने ट्रासन दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.