एमाओवादीको माघ २० बाट हैटौँडामा महाधिवेशन

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले आगामी माघ २० गते मकवानपुरको हेटौँडामा महाधिवेशन गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कार्यालय र राजधानीमा उपलब्ध ब्युरो इन्चार्जहरुको संयुक्त बैठकले पार्टीको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि एमाओवादीले पार्टीको महाधिवेशन आगामी माघ ११ गतेदेखि काठमाडौँमा गर्ने निर्णय सार्वजनिक गरेको थियो।

यसैगरी आज सार्वजनिक गरिएको कार्यतालिकाअनुसार आगामी पुस २५ गतेदेखि माघ १० गतेसम्म पार्टीको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको छ। यसैगरी आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विशेष जनसभाको आयोजना गर्ने निर्णय गरिएको एमाओवादी केन्द्रीय महाधिवेशन आयोजक समितिका वरिष्ठ सदस्य हरिबोल गजुरेलले जानकारी दिए।
विगत २२ वर्षदेखि हुन नसकेको महाधिवेशनका लागि आवश्यक पर्ने कार्यविधिलाई एमाओवादीले यसअघि नै पारित गरिसकेको छ भने देशका अधिकांश गाउँ सम्मेलनहरु यसअघि नै सम्पन्न गरिसकेको छ।
एमाओवादीका अनुसार अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा प्राप्त भएको जानकारीमा ९० प्रतिशतभन्दा बढ्ता गाउँ सम्मेलनहरु सम्पन्न भइसकेको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको विषयमा आफ्नो धारणा राख्नुभएको थियो। महाधिवेशनलाई व्यापक र भव्य बनाउनका लागि पार्टीका सबै तहले विशेष ध्यान दिनुपर्ने र महाधिवेशनबाट नयाँ नीतिसमेत तय गरिने भएकाले विशेष रुपमा लाग्न निर्देशन दिनुभएको नेता गजुरेलले जानकारी दिए।
यसैगरी बैठकले संविधानको अन्तरवस्तुमा सहमति गर्न विपक्षी दल तयार नहुँदासम्म वर्तमान सरकारले कुनै पनि हालतमा राजीनामा नदिने निर्णयसमेत गरेको छ। संविधानको अन्तरवस्तुमा कुनै पनि सहमति नगर्ने, केवल प्रधानमन्त्रीको पदलाई मात्र विपक्षीले केन्द्रविन्दु बनाएका कारण वर्तमानमा राजीनामा दिनु आत्मघाती हुने बैठकले ठहर गरेको छ।
विपक्षी दलहरु संविधानको अन्तरवस्तुमा सहमत भएर सहमतिका लागि तयार भए एक मिनेट पनि सरकारमा नबस्ने ठहर गर्दै बैठकले सहमतिबिना राजीनामा नदिने र त्यसको उचित जवाफ दिनेसमेत एमाओवादीले जनाएको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी नेता गजुरेलले विपक्षीहरुको रणनीति संविधान निर्माण गर्नेभन्दा पनि सरकार प्राप्त गर्ने मात्रै भएकाले सो विषयलाई जनता माझ लैजानुपर्ने विषयमा पनि कुराकानी भएको बताए।
बैठकमा एमाओवादीका राज्य समितिका संयोजकहरुले आ–आफनो राज्य समितिमा महाधिवेशनको सर्न्दभमा भएका तयारीको बारेमा रिपोर्टिङ गरेका थिए। राज्य समितिका संयोजकहरुले गरेको रिपोर्टिङ सुनेपछि अध्यक्ष दाहालले महाधिवेशनको घोषणा पछि देश, जनता र पार्टी पङ्क्तिमा नयाँ उत्साह पैदा भएको र पार्टीमा केही समयपहिले देखिएको फुटको कुनै असर नपरेको निष्कर्ष निकालेका थिए। रासस

Leave a Reply

Your email address will not be published.