आन्दोलन शसक्त बनाउन थारु युवाहरुको राष्ट्रिय भेला हुने

Mahabir Chaudhary

थारु एराउन्ड दी वर्ल्डको आयोजनामा थारु युवाहरुको राष्ट्रिय भेला हुने भएको छ। दाङको तुल्सिपुरमा मंसिर १८, १९ र २० गते तीन दिने राष्ट्रिय भेला हुने आयोजकले जनाएको छ। थारु युवाहरुलाई एकीकृत गर्न, थारु आन्दोलनबारे रणनीति तयार गर्न र आन्दोलनलाई शसक्तरुपमा अगाडि बढाउन राष्ट्रिय भेला आयोजना गरेको थारु एरान्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले बताए।

राजधानीसहित तराईका २२ जिल्लाबाटै युवाहरुको सहभागिता रहने उनले बताए।  भेलामा थारु विद्यार्थी समाज, थारु कल्याणकारिणी सभाको भातृ संगठन थारु युवा सभाको समेत सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट पाँच पाँच जनाका दरले युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

अध्यक्ष चौधरीका अनुसार पहिलो दिनको उद्घाटन सत्रमा थारु सांसद एवं नेताहरुको पनि उपस्थिति रहनेछ। भेलामा देशभरिका युवाहरुलाई विभिन्न प्रशिक्षण दिने कार्यक्रम रहेको चौधरीले बताए। ‘देशभरिका युवाहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य लिएर कार्यक्रम आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘भेलाले सम्पूर्ण थारु युवालाई एउटै आवाजमा समेटिन प्रशिक्षणसमेत दिइनेछ।’

अबको नेतृत्व थारु युवाले लिनुपर्ने भएकाले पनि भेला आयोजना गरेको उनले बताए। ‘आन्दोलनको नेतृत्व अब थारु युवाले लिनुपर्छ। त्यसका निम्ति पनि युवाहरुलाई प्रशिक्षणको आवश्यकता ठानेर कार्यक्रम आयोजना गर्न लागेका हौं।’

थारु आन्दोलनलाई उचाइमा पुर्‍याउन राष्ट्रिय भेला गर्नुपरेको चौधरीले बताए। थारु नेतृत्वमा आएको फुटले आन्दोलनलाई केही कमजोर बनाएको बताउँदै उनले सबै नेताहरुलाई एउटै मञ्चमा बोलाएर एकीकृत गराउने प्रयास रहेको बताए।

 

Leave a Reply

Your email address will not be published.