राष्ट्रपतिले फेरि थपे अर्को छ दिन

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दललाई पुनः छ दिनको समय थप गरेका छन्। आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलमा राष्ट्रपति यादवले सहमतिका लागि पुनः समय थप गरेका हुन्। एक घन्टाभन्दा बढी भएको छलफलमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेकाले म्याद थपका लागि आग्रह गरिएको एमाओवादी अध्यक्ष दाहालले जानकारी दिए।

“राष्ट्रिय सहमतिको सरकार गठन, नयाँ संविधानसभा निर्वाचनका लागि आवश्यक पर्ने ऐन, नियम तथा कानुनको व्यवस्थालगायत विषयमा दलहरुका बीचमा गम्भीर छलफल भइरहेकाले म्याद थपेर भए पनि सहमति गर्नुपर्छ भन्ने मान्यताअनुसार आफूले राष्ट्रपतिलाई आग्रह गरेको र सोहीबमोजिम उहाँले म्याद थप गर्नुभएको छ,”— भेटपछि अध्यक्ष दाहालले भने।
प्रमुख दलको बिहीबारको बैठकले प्रमुख दलका तर्फबाट अध्यक्ष दाहालले म्याद थपका लागि राष्ट्रपतिसँग आग्रह गर्ने भन्ने सहमतिबमोजिम उहाँ आज राष्ट्रपति भवन पुग्नुभएको हो। भेटवार्तामा दलहरुबीच भइरहेको सहमतिको प्रयासबारे अध्यक्ष दाहालले राष्ट्रपति यादवलाई जानकारी गराएका थिए।

राष्ट्रपति यादवले विघटित संविधान सभाको ठूलो दलको हैसियतले राष्ट्रिय सहमति कायम गर्न एमाओवादीको भूमिका महत्वपूर्ण हुने र त्यसमा अझ शान्ति सम्झौतामा हस्ताक्षरकर्ताको हैसियतले अध्यक्ष दाहालकै भूमिका अझ महत्वपूर्ण रहेको स्मरण गराएका थिए। “मैले समग्र विषयमा राष्ट्रपतिलाई जानकारी गराएँ, उनले छिटोभन्दा छिटो सहमति गरेर आगामी वैशाखमा निर्वाचन सम्पन्न गर्नका लागि आग्रह गरे, दलहरुका बीच भइरहेको वार्ता र सम्वाद हेर्दा थपिएको समयभित्रै सहमति हुन्छ भन्ने विश्वास दिलाएँ।” संवाददाताको जिज्ञासामा अध्यक्ष दाहालले भने।
राष्ट्रिय सहमति जुटाउन भन्दै राष्ट्रपति यादवले दिनुभएको दोस्रो पटकको समयसीमा बिहीबार मात्रै सकिएको थियो। दुई पटक राष्ट्रपतिले म्याद दिए पनि दलहरुबीच रहेको आआफ्नै अडानका कारण सहमति भने हुनसकेको छैन। रासस

Leave a Reply

Your email address will not be published.