छोरीको मृत्युपछि दुःखका दिन सुरु भए

परशुनारायण चौधरी- ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने नेपाली उखानको ठिकविपरित मलाई जीवनको अन्त्यमा एक्लिनुपर्छ भन्ने कहाँ थाहाँ थियो र! उसो त हामी आफ्नो बुबाको पाँचभाइ दाजुभाइ थियौं। ‘जेठो’ म आफैं थिएँ। तर जीवनको आरोह-अवरोहले हामीलाई छिन्नभिन्न तुल्याइदियो। जीवनको शुभारम्भमा परिवारका सदस्यहरूसँग जीवन व्यतीत गर्ने अवसर पाइए पनि अन्तिम अवस्थामा परिवारबाट टाढिनुपर्‍यो। एक्लिनुपर्‍यो। परिवारको साथछँदा त्यति वास्ता नभए पनि एक्लो जीवन बाँच्नु परेपछि त्यसको अभाव खड्किदो रहेछ। मेरो जीवनमा त्यस्तै भइदियो। अहिले म एक्लो, नितान्त एक्लो जीवन जिउन बाध्य छु। परिवार, साथीसँगी तथा छोरा बुहारी, नाति नातिना सबै पराई भएका छन्। विराना भएका छन्, लाग्छ जीवनको एक्लो यात्री मै भएको छु।
वि.सं. २००५ सालमा थारूहरूको सङ्गठन थारू कल्याणकारिणी सभा गठन हुँदा म २१ वर्षको थिएँ। सङ्गठन खोल्ने अभ्यास त्यस अगाडिदेखि भए पनि आपचौरिक रूप २००५ सालमा पाएको थियो। अझ दर्ता त त्यस पछाडि नै भएको हो। सानै उमेरमा मेरा राजनीतिक जीवनको शुरूवात भए पनि शुरूमा कुनै राजनीतिक सङ्गठनमा लाग्नु अगाडि यस्तै जातजातिका संगठन र क्लवमै सक्रिय भइयो। विस्तारै सङ्गठित हुने चेतना पनि बढ्यो। वि.सं. २००७ सालको क्रान्ति हुँदा सम्भवतः म एक्लो थारू थिएँ हुँला जो काठमाडौंमा आएर राणाविरूद्ध आन्दोलनमा समाहित भएको थिएँ। राणाहरूको तानाशाही र निरंकुश जहानिया शासनलाई सहन नसकी २००७ सालको क्रान्ति सफल पारेका थियौं। सात सालको क्रान्तिको बेला म एकदम लक्काजवान थिएँ। मलाई अझै झझल्ती याद आउँछ, आन्दोलनको क्रममा एक नेवारको घरमा लुक्नपुग्दा एकजना आईमाइले मलाई हात समातेर भित्रै तानेकी थिइन्।
सात सालको क्रान्तिका सफलता पश्चात् देशमा अमयनचयन भयो। राजनीतिक दलहरूले पनि आफ्नो हाङ्गाविङ्गा फैलाउने सुर कसे। वि.सं. २००४ सालमा भएको नेपाली काङ्ग्रेसको गठनपश्चात् देशमा सङ्गठनात्मकरूपमा काङ्ग्रेसको चहलपहल बढ्यो। त्यतिबेलाका काङ्ग्रेसी नेताहरू अधिकांश भारतको बनारस तथा कोलकोत्तामा गएर अध्ययन गर्थे। म पनि सोही बेला भारतमै गएर अध्ययनरत थिएँ। भारतको उत्तर प्रदेशस्थित बलरामपुरबाट मैले म मेट्रिक पास गरें। उच्च शिक्षा पनि बनारसकै हिन्दू विश्वविद्यालयबाट लिएँ। ग्रेजुएशन पनि मैले सोही विश्वविद्यालयबाट पास गरेँ। सो क्रममा थुप्रै नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट हुने गर्थ्यो। साथीभाइसँगको भेटघाट र सक्रियतासँगै विस्तारै म पनि काङ्ग्रेसी राजनीतिमा प्रवेश गर्ने सोच बनाउन थालेको थिएँ। यद्यपि मैले काङ्ग्रेसमा प्रवेश भने आधिकारिक रूपमा वि.स. २००९ सालमा मात्रै गरेको थिएँ।
वि.सं. २००९ सालको नेपाली काङ्ग्रेसको जनकपुरमा भएको महाधिवेशनमा दाङ जिल्लाको प्रतिनिधिको हैसियतले भाग लिने मौका मिलेको थियो। सोही साल नै काङ्ग्रेसको केन्द्रीय कमिटी सदस्यमा समेत मनोनित हुने अवसर पाइएको थियो। राजनीतिक जीवनमा सक्रिय भएपछि वि.सं. २०१५ सालको प्रथम आमनिर्वाचनमा दाङ जिल्लाकै क्षेत्र नं. १ बाट म प्रतिनिधि सभामा निर्वाचित पनि भएँ।
वि.सं. २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीकालमा म शिक्षामन्त्रीको जिम्मेवारी पाए पनिकाम गर्न साह्रै समस्या थियो। आफ्नो तजबिजले काम गर्न पाइँदैनथ्यो। वि.सं. २०१७ सालको राजनीतिक परिवर्तनका कारण नौ वर्ष भारतमा निर्वासित जीवन विताउनुपर्‍यो। त्यतिबेला सुवर्ण शम्शेरको नेतृत्वमा प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलन गर्नुपरेको मलाई स्मरण छ। वि.सं २०१८ सालमा भारतको पटनामा भएको महाधिवेशनले सुवर्ण शम्शेरलाई नेपाली काङ्ग्रेसको कार्यकारिणी अध्यक्षमा चुनेपछि मैले महामन्त्रीको जिम्मेवारी पाएको थिएँ। त्यतिबेलाको राजनीतिक जीवन एकदम कठोर थियो। वि.सं. २०३८ सालसम्म २० वर्ष म निरन्तर काङ्ग्रेसको महामन्त्री भएर जिम्मेवारी बहन गर्दा निकै समस्या र चुनौतीसँग सामना गर्नुपरेको थियो। वि.स. २०२५ सालमा तत्कालीन राजा महेन्दले आममाफीको घोषणा गरेपछि हामी भारतको निर्वासित जीवनबाट मक्त भइ स्वदेश फर्केका थियौं।
२०३६ सालको जनमत सङ्ग्रहमा नेपालको धेरै जिल्ला घुम्ने मौका पाइयो। बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्ने एउटा सुअवसर पनि त्यही जनमत सङ्ग्रहले जुराइदियो। सुवर्ण शम्शेरले बीपी कोइरालालाई कांग्रेसको सभापतिमा मनोनित गरेपछि म वरिष्ठ महामन्त्री र गिरिजाबाबु महामन्त्रीमा चयन भयौं। त्यतिबेला बालिग मताधिकारको आधारमा भएको चुनावमा भाग लिनुपर्छ भन्ने अडान मैले लिएको भए पनि काङ्ग्रेसले चुनाव वहिष्कार गर्ने नीति लियो। सोही मतभेदले मलाई काङग्रेस पार्टी त्याग गर्ने सम्मको वातावरण सिर्जना गरिदियो। मतभेद् झाङ्गिदै गएपछि म २०३८ सालमा सुधारिएको पञ्चायत व्यवस्थातिर लम्किएँ। २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले मलाई राष्ट्रिय पञ्चायतमा मनोनित गरेपछि पुनः विभिन्न मन्त्रलयको जिम्मेवारी सम्हाल्ने अवसर पाएको थिएँ।
वि.सं. २०४३ सालको मरिचमानसिंह श्रेष्ठको प्रधानमन्त्रीकालमा पुनः आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालें। एक वर्ष वित्न नपाउँदै सो मन्त्रीमण्डल विघटनभयो। २०४४ सालमा पुनः श्रेष्ठकै प्रधानमन्त्रीमा अर्को मन्त्रीमण्डल गठन भएपछि म वाणिज्य, श्रम तथा सामाज कल्याणमन्त्रीको जिम्मेवारी सम्हालेँ। राजनीतिक उथलपुथल तथा खोसिएको प्रजातन्त्रका लागि हामी भित्रभित्रै सक्रिय भए पनि सोचेअनुसार काम गर्ने वातावरण बनेन्। तत्कालीन राजाहरूकै इच्छाअनुसार शासनसत्ता सञ्चालन हुन्थे। २०४५ देखि २०४६ सम्म मरिचमानसिंह श्रेष्ठकै प्रधानमन्त्रीमा गठित मन्त्रीमण्डलमा पुनः मैले शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी पाएँ। पटक-पटक मन्त्रिमण्डलमा सहभागी हुने मौका पाए पनि आफूले चाहेजस्तो आम नागरिकका लागि काम गर्न सकिएन। काम गर्ने वातावरणसमेत बनाउन सकिएन। त्यतिबेलाको राजनीतिक परिस्थिति बेग्लै खालको थियो। पञ्चायती व्यवस्थातिर लागे पनि आन्तरिक रूपमा म सो व्यवस्थाबाट पनि सन्तुष्ट हुन सकेको थिइन।
२०४६ सालको जनआन्दोलनपछि काङ्ग्रेसका केही नेताहरूको अनुरोधमा म पुनः कांग्रेसमा प्रवेश भएँ। करिब छ महिनाको अवधिमा काङ्ग्रेसभित्रको गुटबन्दी र खिचातानीले मलाई पुनःसन्तुष्ट पार्न सकेन। किशुनजीको विशेष आग्रहमा म कांग्रेसमा प्रवेश भएको भए पनि गिरिजाबाबुहरूको असहयोगले मलाई पुनः काङ्ग्रेस छाड्न बाध्य बनाइदियो। २०४८ सालको निर्वाचनमा मलाई टिकटसमेत काङ्ग्रेसले दिन मानेन्। मलाई टिकट नदिएर हरिबाबु चौधरीलाई टिकट दिइयो। सोही कारण म पुनः काङ्ग्रेस त्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीतिर लाग्न बाध्य भएँ। त्यसपश्चात् लामै समय घरायसी जीवन विताएँ। घरमा दाजुभाइसँगै मिलेर कृषि काम गरेरै विताएँ। गोबरडिहा -८, दाङ देउखुरीमा मेरो घर र खेतीपाति थियो। अहिले पनि जग्गा जमिन त छ तर उपयोग गर्न पाएको छैन। सशस्त्र द्वन्द्व सुरू भएपछि घरजग्गा कब्जा भयो र अहिले पनि त्यो त्यस्तै लथालिङ्ग अवस्थामा छ।
काङ्ग्रेस परित्याग गरेपछि म पुनः थारू कल्याणकारिणी सभामा सक्रिय भएँ। ०४९ देखि ०५३ सम्म म सभाको अध्यक्ष भएँ। त्यस अगाडि पनि ०४३ देखि ०४८ सम्म म महामन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेको थिएँ। अहिले म सो सभाको मानार्थ सदस्य र सल्लाहकार पनि छु। राप्रपामा प्रवेश भएपछि पनि म आफ्नै दाङ क्षेत्रबाट राजनीतिमा सक्रिय थिएँ। ०५२/०५३ को निर्वाचन मैले खुमबहादुर खड्कासँग लडेको भए पनि पराजित भएँ। सोही क्षेत्रबाट मेरै भतिजो खेमनारायण चौधरीलाई नेकपा (माले) बाट उभ्याइदिएपछि मेरो मत काटिएको थियो। दुई छोरा र एक छोरीको बुबा म र मेरो परिवारलाई त्यतिबेला खासै समस्या थिएन। छोराछोरी हुर्किसकेका थिए। २०५८ सालमा जेठो छोरा असुतोषनारायणलाई डिभी पर्‍यो र उ पनि अमेरिका गयो। अर्को छोरा सुभाष पनि पढ्न भनी विदेशतिर लाग्यो। छोरी कल्पना चौधरीको भने विवाह गरिदिएँ।
२०५९ साल असोज १० गते बस दुर्घटनाले छोरी परालोक भइन्। कुरिन्टार क्षेत्रमा दाङ जाने क्रममा बस त्रिशुलीमा खसेर उनको मृत्यु भएको थियो। लाग्छ मलाई मेरो दुःखका दिनको सुरूवात पनि त्यही घटनाबाट सुरू भयो। लगत्तै दुई वर्षपछि मेरो श्रीमती २०६१ चैतमा बितिन्। छोराबुहारीहरू सबै विदेश भएका बेला घरमा एक्लो श्रीमतीको पनि देहान्तपछि त मेरो जीवनमा झन एक्लोपन शुरू भयो। आमाको देहान्तपछि छोराहरू विदेशबाट आए पनि काजक्रिया गरेर पुनः विदेशतिरै फर्किए। हुन त म २०५९ साल फागुन ७ गते राजपरिषद् स्थायी समितिको सभापतिमा नियुक्त भइसकेको थिएँ। खान बस्न र भौतिक सुख सुविधाको केही कमी नभए पनि पारिवारिक चिन्ताले मलाई खुशी हुन दिएको थिएन। ०६२/०६३ सालको जनआन्दोलनको सफलतासँगै स्थायी समिति पनि विघटन भयो। राजपरिषद्को सभापति भएकै बेला ०६२ साल फागुन ११ मा म एक्लो जीवनलाई कठिनाई भएपछि एकजना सुसारे मुना खत्रीलाई भित्र्याएको थिएँ। श्रीमान् र छोराको मृत्यु भइसकेकाले ऊ पनि एक्लो जीवन बाँचिरहेकी थिइन्। राजदरवारमा कार्यरत कार्यकर्ता तथा मेरै पिएहरूले मुनासँगको भेटघाटको अवसर जुराइदिएका थिए।
वि.स. १९८४ मंसिर ११ गते जन्मेको म अहिले म ८४ वर्षको भएँ। भक्तपुरको लोकन्थलीस्थित १४ आना १ दाममा बनेको दुई तले घरमा बस्दै आए पनि मेरो जीवनको अन्तिम क्षण निकै कष्टकर छ। छोराहरूको अत्तोपत्तो छैन। घरमा सुसारेको बलमा शौचालय जाने र ओछ्यानको सहारा भएको छु। जीवनको अन्तिम घडीमा समेत राष्ट्रले राजनीतिक समस्याबाट मुक्ति पाउन नसकेपछि भने आफ्नो जीवनभन्दा पनि ठूलो चिन्ता देश र जनताको लाग्छ। राष्ट्र र जनताका लागि आफूले सारा जीवन व्यतित गरे पनि आम नागरिकको जीवनमा खासै तात्विक परिवर्तन हुन नसकेको देख्दा साह्रै चिन्ता लागेको छ।
प्रस्तुती : लक्की चौधरी

गोरखापत्रको २०६८ संस्करणबाट साभार

One thought on “छोरीको मृत्युपछि दुःखका दिन सुरु भए

  1. O sansar ma janam lie sakepachhi dukha r kast aain rahanchh tapai le tharuharuko unatiko lagi daera I yogadan vumika nivaunu vayako 6 tapai mare r gay pani hami le tapai ko yogdan lai kadar garne 6au

Leave a Reply

Your email address will not be published.