सर्वोच्च अदालतमा सात न्यायाधीश

काठमाडौं- स्थायी र अस्थायी गरी २४ जनासम्म न्यायाधीश रहने सर्वोच्च अदालतमा आजैदेखि पाँचजना अस्थायी न्यायाधीश सेवाबाट निवृत्त भएकाले सातजना न्यायाधीशमात्र बाँकी भएका छन्। दुई वर्षका लागि उक्त अदालतको अस्थायी न्यायाधीशको रूपमा नियुक्ति पाएका भरतराज उप्रेती, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्की, डा भरतबहादुर कार्की र कमलनारायण दासको आजका मितिदेखि पदावधि सकिएको हो। न्यायाधीश उप्रेतीले भने केहीदिनअघि नै राजीनामा दिएका थिए। 
अस्थायी न्यायाधीशको पुनः नियुक्तिका लागि हिजो बसेको न्यायपरिषद्को बैठकले नयाँ कानुनको आवश्यकता महसुस गरेर पठाए पनि सो पारित हुन नसक्दा पाँचैजनाले आजका दिनदेखि सेवाबाट विमुख हुन परेको हो। सर्वोच्च अदालतको वेभसाइटमा राखिएको दैनिक कार्यसूची (कजलिष्ट)मा पाँच जना नै न्यायाधीशको नाम समावेश थिएन। तर वेभसाइटमा उहाँहरूको नाम र फोटो भने यथावत् छ।
कानुन तथा न्यायमन्त्री उक्त परिषद्को सदस्य हुने प्रावधानबमोजिम हिजो कानुन तथा न्याय मन्त्रालको कार्यभार सम्भाल्नुभएका प्रधानमन्त्री निवासमा परिषद्को बैठक बसेको थियो।
दसवटा इजलास भएको सर्वोच्च अदालतमा प्राय एकल इजलास, संयुक्त इजलास र पूर्ण इजलास निरन्तर सञ्चालन हुने र दैनिक ३०० भन्दा बढी मुद्दा तथा रिट निवेदन दैनिक कार्यसू्चीमा चढ्ने गर्थे।
पुनरावेदन अदालतका न्यायाधीशको उमेर हद ६३ वर्ष र सर्वोच्च अदालतका न्यायधीशको उमेर हद ६५ वर्ष तोकिएकाले पुनरावेदन अदालतमा दरबन्दी रही सर्वोच्च अदालतको अस्थायी न्यायाधीश रहनुभएका तर्कराज भट्ट, वैद्यनाथ उपाध्याय र ज्ञानेन्द्रबहादुर कार्कीमध्ये गत साउन महिना मै न्यायाधीश भट्टको उमेर हद ६३ नाघेकाले उहाँ स्वतः अवकासमा पर्नुहुने र अन्य दुईजनाले भने दरबन्दी रहेको पुनरावेदन अदालत मै फर्कनुपर्ने भएको छ।
न्यायाधीश भरतराज उप्रेती, डा भरतबहादुर कार्की र कमलनारायण दास भने कानुन व्यवसायी तथा प्राध्यापन क्षेत्रबाट आएका थिए। कानुनमा कुनै परिवर्तन नभए अर्का अस्थायी न्यायाधीश प्रकाश वस्तीले पनि आगामी माघ महिनामा सेवाबाट निवृत्त हुनपर्ने छ।
न्यायपरिषद् स्रोतका अनुसार आवश्यकता महसुस गरिएको नयाँ कानुनमा अस्थायी न्यायाधीशलाई निरन्तरता दिन सकिने र संसदीय सुनुवाइ पनि आवश्यक नपर्ने प्रावधान रहेको र तीनदिनभित्र अध्यादेशको रूपमा कानुन पारित हुनसक्ने सम्भावना छ। रासस

Leave a Reply

Your email address will not be published.