सीएनएन हिरोका लागि महिला स्वास्थ्यसेविका मनोनयन गरिने

काठमाडौं- अगामी वर्षका लागि सरकारीस्तरमा पनि पहिलोपटक सीएनएन हिरोका लागि आवेदन दिइने भएको छ। स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले वडास्तरमा महिला स्वास्थ्यसेविकाले निःशुल्करूपमा प्रवाह गरिराखेका स्वास्थ्य सेवाबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन सो आवेदन दिन लागेको हो। नेपालको गैरसरकारी संस्थाका तर्फबाट दिइएको आवेदनमा नेपालका अनुराधा कोइराला र पुष्पा बस्नेत सीएनएन हिरोबाट सम्मानित भइसकेकी छिन्। 
समुदायका स्वास्थ्य समस्या सरकारसमक्ष र सरकारका स्वास्थ्य सेवाका कार्यक्रम समुदायसमक्ष पुर्‍याउन महिला स्वास्थ्यसेविकाले सेतुका रूपमा भूमिका निर्वाह गरिराखेका छन्।
स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा सेनेन्द्रराज उप्रेतीले भने– “महिला स्वास्थ्यसेविकाका योगदानलाई लिएर हामी पनि सिएनएन हिरोका लागि निवेदन दिन्छौं।” विसं २०४७ देखि सुरु यस कार्यक्रमबाट हाल ५२ हजार महिला स्वयम्सेविकाले एक करोड जनतालाई प्रत्यक्ष सेवा पुर्‍याइराखेका छन्।
आधारभूत स्वास्थ्य सेवाअन्तर्गतका परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु स्याहार, खोप, भिटामिन ए क्याप्सुल वितरण, झाडापखाला नियन्त्रण, गर्भवती महिलालाई आइरन चक्की वितरणजस्ता काम समुदायस्तरमा उनीहरूले निःशुल्करूपमा गरिराखेका छन्।
‘स्वास्थ्य स्वयम्सेविकाको सेवा स्वास्थ्य समाजको योगदानका लागि टेवा भन्ने’ नाराका साथ स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ मनाइएको नवौँ महिला स्वास्थ्यसेविका दिवसको कार्यक्रममा निर्देशक डा उप्रेतीले सामाजिक सेवाको भावले घाम पानी, झरी बादल नभनी वडा तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन र समस्यालाई सरकारसमक्ष ल्याउन महिला स्वास्थ्यसेविकाको भूमिका मेरुदण्डका रूपमा रहेको बताए।
समुदायस्तरका आमा समुदायले निःस्वार्थ भाव भएका महिला छनोट गर्ने गर्दछन्। छनोट भएका महिलालाई आधारभूत तहको १८ दिनको तालिम दिएपछि मात्र महिला स्वास्थ्यसेविकाको रूपमा काम गर्न पाउने प्रावधान छ।
मन्त्रालयले रु ५० हजारको महिला स्वास्थ्यसेविका कोष स्थापना गरेको छ। कोषमा बर्सेनि रु १० हजार थप गर्दै जाने नीति पनि मन्त्रालयले बनाएको छ। यसै कोषद्वारा उनीहरू परिचालित हुने गर्छन्।
कार्यक्रममा मन्त्रालयले यसवर्ष उत्कृष्ट कार्य सम्पदन गर्ने १६ जना महिला स्वास्थ्यसेविकालाई रु पाँच हजारसहित सम्मान प्रदान गरेको थियो। यसरी सम्मानित हुनेमा द्रौपदी विक, चन्द्रकला कार्की, गुणकेशरी श्रेष्ठ, शान्ति जैसी, निर्मला लामा, विणादेवी यादव, माया साउदलगायतका रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतो र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा मिङ्मार गेल्जेन शेर्पाले उनीहरूलाई सम्मान गरेका थिए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा शिवकुमार राईले सबै स्वास्थ्य कार्यक्रम महिला स्वास्थ्य सेविकाको टाउकोमा नथोपार्न मन्त्रालयलाई आग्रह गरे। रासस

Leave a Reply

Your email address will not be published.