समा–चकेवा एक परिचय

बुद्धसेन चौधरी, सप्तरी- नेपाली समाजको संरचना र विकास यहाँ आदमकाल देखि वसोवास गरिआएका जाति तथा उत्तर र दक्षिणवाट आएका विविध जातिका संगालोबाट समष्टिगत रुपमा भएका हुन्। भौगोलिक विविधता र धेरै जातजाति, भाषा, संस्कृति, धर्म तथा सामाजिक विविधता नै यसको विशेषता हो। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी थारुहरुको पनि आफ्नो अलगै किसिमको परम्परा र संस्कृति मध्ये ‘समाचकेवा’ पनि एक हो। यो पर्व कार्तिक शुल्क पक्ष (इजौरिया) को द्वितिया तिथि देखी प्रारम्भ भएर पूर्णिमाको भोली पल्ट (बुढ पूर्णिमा) को भोली पल्टसम्म मनाउने परम्परा रहि आएको छ। यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरुलार्ई माटोले उनिहरुको स्वरुप बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन्। यो खास किसिमको व्रत, उपवास र चाँड पर्व नभए पनि यसलाई एउटा परम्परा चलन तथा मनोरञ्जनको रुपमा लिने गर्छन्।

यस परम्परालाई भाई–बहिनी, श्रीमान्–श्रीमती, आमा–वुवा र छोरा–छोरीको विचको स्नेहपूर्ण तथा प्रगाढ सम्बन्धको प्रतिकको रुपमा लिइन्छ जसमा भाई (साम्ब) ले बहिनी (समा) प्रति देखाएको अगाध प्रेमको वर्णन छ भने जन्म जन्म सम्म संगै रहने राजकुमारी ‘समा’ र राजकुमार ‘चक्रवाक’ विचको अन्तर सम्बन्ध पनि झल्केको छ। आमा–वुवाको आदेश असल, खराब जे भए पनि सिरोधार गरी पालन गर्ने अठोट साथ अज्ञाकारिता र वचनबद्धताको उदाहरण पनि यसमा छ भने हतारमा गरेको निर्णयले पछि पछाताउनु वाहेक केही पनि बाँकी रहदैन भने सन्देश पनि यसमा देखिन्छ।

यस परम्पराको शुरुवात आज भन्दा २००० वर्ष पहिले प्रयाग राज्यको गर्भदेश (हालको इलहावाद) मा सेन वंशीय ‘स्थवीर’ थारुहरुको राज्य थियो। यी सेन वंशीय राजाहरु मध्ये किसनभुषन सेन नामको एउटा महा–प्रतापी र धर्मात्मा राजा थियो। राजाको श्रीमतीको नाम आदम वती थिइन्। राजाको दुइ वटा सन्तानहरु थिए। राजकुमारीको नाम ‘समा’ थिइन् भने राजकुमारको नाम साम्ब थियो। यी दुई भाई वहिनी विच घनिष्ठ र ममतामय सम्बन्ध थियो। राजकुमारी समाको विहे मगध देशको राजा सालिकको जेठो छोरा ‘चक्रवाक’ संग सानै उमेरमा भैसकेको थियो। सानै उमेरमा विहे भए पनि जवान भएपछि मात्रै आफ्नो घर जाने परम्परा अनुसार राजकुमारी ‘समा’ वुवा आमाकै घरमा थिईन। यी कुराहरु अहिले पनि थारुसमाजमा विद्यमान नै छन्। राजकुमारी ‘समा’ रुपवती र असल स्वभावकी भएकोले उसलाई सबैले माया गर्थे। उसको रुप देखेर ‘चुरठ’ नाम गरेको राजाको विश्वासिलो भारदारको कुदृष्टि त्यसमाथि पर्न गयो। चुरठले एक दिन राजकुमारी समासंग प्रेमको प्रस्ताव राख्यो। जसलाई राजकुमारीले ठाडै अस्वीकार गरिन्। राजकुमारी असल स्वभावकी भएकीले यो कुरा कसैलाई भनिनन्। उता चुरठ आफ्नो प्रस्ताव अस्वीकार गरेकोले राजकुमारी माथि विभिन्न किसिमको षडयन्त्र गर्न थाल्यो। एक दिन चुरठले राजालाई राजकुमारीको चरित्र माथि प्रश्न चिन्ह खडा गरी विभिन्न किसिमका कपो–कल्पित लाल्क्षणा लगायो। राजा रिसले चुर भई सत्यता नै नबुझी छोरी समालाई वनवास जाने सजाय दियो। यो खबर रानी र राजकुमारले थाहा पाई समालाई वनवास जानबाट रोक्नको लागि सक्दो प्रयास गर्योस तर समाले कसैको कुरा सुनिनन्। उता राजकुमार ‘चक्रवाक’ ले पनि यस कुराको जानकारी पाई श्रीमती समालाई वनवास नजानको लागि जे–जस्तो कदम चाल्न पनि तयार भयो। तर राजकुमारी कसैको कुरै नसुनी वनवास जाने निधो गरिन् उता राजा पनि आफुले विचारै नगरी सुनाइएको आदेशमा पछताई रहेको थियो। यस कुरालाई तलका सम्वादहरुले पनि प्रष्ट गर्दछन्।

राजा किसनभुषन सेन र रानी आदमबती बीच थारु भाषामा भएको सम्वाद (गीत)

रानी :
केहेन तोहोर गौरव हे गर्भा राजा, सगरे भेलौ उपहास
चुगलाके चुगली मे पैरके हे राजा, वेटीके देला वनवास। चुगलाके ……….

पर के वचन विमोचन हे राजा तोर भेलौ सत्यानाश
भाई वाप टुटल छुटल, वेटी के लैहरा से टुटलै आश। चुगलाके ………..

जिन तु समझ बुझ हे राजा जिन कैल खोज विचार
तोहरो विचार मे लागल मधुवा, समा बेटी के छुटल सब से हित। चुगलाके ……..

कौने विधि बेटी बसिहे राजा कौने विधि काटतै समय साल
सब सुविधा जोरी देहु हे राजा ने त समय विततै बड जंजाल। चुगलाके ……….

राजा :
चुरठ के जिन दोष हे रानी, जिन दोष मोर रिस
विधि के लिखल हे रानी, समा के साथ यैसन अनरित। विधि के ………….
सँाठी देहु आहे रानी झाझी रे कुतुवा, सँाठी देहु भमरा रंजित
छानी छानी पठाव हे रानी सकले समान के जैसे हेतै समा बेटी आपन हित। जैसे हेतै …….

अलख जगाबे पठाब हे रानी एक गिरोह काली नृत्य
हृदयानन्द हेतै हे रानी, खुस हेतै समा वेटी के चित। हृदयानन्द हेत………..

राजकुमारी समा र राजकुमार साम्व विच थारुभाषामा भएको संबाद (गीत)ः
साम्ब :
कथिले कानै चिही हे समा वैहिनी, कथिले टुटलौ लहिरा से आश
घर घुरी चलु हे समा बैहिनी, बांटी देबो आधा राज।।
समा :
बाबा के समपतिया हे भैया भतिजवा के आस
हम पर गोतनी हे भैया मोटरिया के आस,
बाबा के सोना के अटरिया हे भैया धिया घर परे उपास।।
साम्ब :
घर लौटी चल हे समा बैहिनी बाबा के देबै हम ज्ञान
तुहु जिन घुरव हे समा बैहिनी मोही तेजव आपन प्राण।
समा :
जिन यैसन करहु हे साम्ब भैया बाबा के हेतै बहौत बदनाम
करम के खोट हे भैया विधि मोरा भेलै बाम।।
साम्ब :
कैसन के हम जिबै हे समा बैहिनी, कैसन के फेरव हम सास
जिन तुहु घुरव हे समा बैहिनी जगत मे भाई के हेतै बहौत उपहास।।
समा :
जनि कानु जनि खिजु जनि हेवु निराश
दोसर जन्मुवा मे हम सब फेरो एके कोखी लेबै अवतार

यस्तो करुणामय वातावरणलाई राजकुमारीले असहज रुपमा नलिई भाई र श्रीमान्लाई अर्को जन्ममा सँगै भाईवहिनी र श्रीमान्–श्रीमतीको रुपमा जन्म लिने वचन दिन्छिन् भनेेेे कार्त्तिक शुक्ल पक्षमा म सघै गाउँ घरमा चकेवा–चकेवीको रूपमा युगौ युगसम्म रहीरहने जानकारी पनि दिन्छिन्। उता रानीले राजाको आज्ञा अनुसार छोरीलाई वृन्दावनमा कुनै पनि किसिमको तकलिफ नहोस् भन्न खातिर विभिन्न किसिमको व्यवस्था मिलाई नृत्य टोली, सुरक्षा टोली, कुकुर, तितिर लगायत राजकुमारीलाई मनपर्ने सम्पूर्ण चिजबिजहरु साथ लगाएर विदाइ गरिन्। राजकुमारी वनमा गएर तपस्या गरि र अर्को जन्ममा चकेवाको रुपमा जन्मिन्। उक्त चकेवाले दुई वटा अण्डा पारिन। ती दुई अण्डाबाट भाले चकेवा र पोथी चकेवीको जन्म भयो। यसरी ती भाले र पोथी भाई साम्ब र वहिनी समाको प्रतीक एक अर्कालाई अगाध माया र स्नेह बाडिन्। ती भाले र पोथी ठूला भए पछि राजकुमारी समा र राजकुमार चक्रवाकको प्रतिक श्रीमान्–श्रीमती भई जीवन विताए। अझ पनि थारु समाजमा विहे गर्दाखेरी थाकवंश (गोत्र) हेरेर नै विहे गर्ने परम्परा रही आएको छ।

कार्तिक शुक्लपक्ष द्वितीया तिथिमा समा–चकेवाको सम्झना स्वरुप आइमाइ जातिले माटोले विभिन्न स्वरुप बनाउँछन्, जसमा समा, चकेवा, चुगला(चुरठ), सतभैयाँ, कुकुर, भमरा, वृन्दावनी, नाँचटोली (मिरदङ्गीया, नटुवा, झाइलबज्जा, आदि) जस्ता स्वरुपहरु निर्माण गर्दछन्। यी स्वरुपहरुलाई डलामा राखी सधै राती–राती टोलको मुख्य जेवारको घरमा जम्मा भइ, आ–आफ्नो डलामा बत्ती (टुकी) बाली गीत सहित एक डेराबाट अर्को दरबजामा जान्छन्। त्यहाँ गइसके पछि विभिन्न किसिमका गीतहरु गाउँछन्। त्यसपछि आ–आफ्नो समालाई ढेक (जोतेको खेतको डल्ला) खुवाउँछन् र भन्छन् ‘समा–चकेवा समा–चकेवा आविह हौ, जोतलहा खेतमे बैठियह हौ, ढेक फोइर फोइर खाइयह हौ’। त्यस पछि फर्केर आँगनमा आइ चुरठ (चुगला) लाई गाली सहित तीन चोटी जुँगा डढाउँछन् र भन्छन् ‘अगर के काठी डगर के गुँह, घोइर घोइर देबौ चुगलाके मुँह’ अनि सबै जना खित्का छोरेर हाँस्छन्। त्यसपछि बनाइएको वृन्दावनी पनि तिन चोटी डढाउने र निभाउने गर्छन् र भन्छन् ‘वृन्दावनी वृन्दावनी के के बुताबे, सात भाइ ’(भाइको नाम) सेहा बुताबे’। यसपछि सबै जना आ–आफ्ना घर जान्छन्। यसै किसिमले प्रत्येक राती खेली पूर्णिमाको रात पुरा गाँउ डुल्ने गर्छन् र त्यसको भोलीपल्ट विहान समा–चकेवा साथमा लिइ, गीत गाउँदै टोलभरि घर–घरमा गइ विदाइको लागि माग्ने गर्छन्। त्यसपछि नजिकको पोखरी, नदी, तलाउ इत्यादिमा पुजा गरी तेल, सिन्दुर सहित च्युरा, दही, शखर अन्य कोसेलीहरु साथमा दिइ पानीमा सेलाउँछन् भने पानीमाथि तैरिरहने पालकी (डोली) बनाएर त्यसमा आ–आफ्नो समा–चकेवालाई राखेर बिच पानीमा गएर राख्छन्। त्यहाँ उपस्थित सबैलाई प्रसाद स्वरुप दही, च्युरा बाँड्छन्। यसरी एक वर्षको लागि समा–चकेवा खेल्ने चलनको अन्त हुन्छ।

यस किसिमले समा–चकेवा महिलाहरुले खेलेर मनोरञ्जन गरिने एक किसिमको परम्परागत संस्कृति हो। यस संस्कृतिसँग थारुहरुको पुर्खौली सम्बन्ध रहेको छ। अहिले पनि थारुहरुको थाकवंश, कुलदेवता इत्यादि पुर्खाहरुकै नामबाट रहि आएकोले यसबाट यो संस्कृतिसँग थारुहरुको वंशाणुगत सम्बन्ध रहेको प्रतिक हुन्छ। नेपालको इतिहास हेर्दा तराइमा बसोवास गर्ने जात जातिहरुले विभिन्न काल खण्डमा आइ आ–आफ्नो अस्तित्वलाई स्थापित गरे पनि एकले अर्कालाई विस्थापित गर्ने र अर्काको धर्म संस्कृति परम्परालाई नाकारात्मक व्यवहार गरेको पाइदैन। फलस्वरुप तराईमा विभिन्न समयमा आएका अन्य जातिसमुदायहरुले पनि यस परम्परालाई स्वीकार गरी धुमधामको साथ मनाउने गर्छन्। त्यसकारण यो थारुहरुको पुर्खौली परम्परा भए पनि सम्पूर्ण तराई वासीहरुको साझा संस्कृतिको रुपमा रहि आएका छन्।

Leave a Reply

Your email address will not be published.