एमाओवादीले गणतन्त्र कमजोर बनाउन खोज्यो : नेपाल

चितवन – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)ले गणतन्त्र कमजोर बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपा एमाले क्षेत्र नं ५ चितवनले आज माडीको वसन्तपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले गणतन्त्रका प्रतिक राष्ट्रपतिलाई धम्काएर विवादमा ल्याउन खोजेको आरोप लगाउ। राष्ट्रपति विवादमा आए गणतन्त्र कमजोर हुने भन्दै वरिष्ठ नेता नेपालले कसैलाई पनि गणतन्त्र खतरामा पार्ने अधिकार नभएको बताए ।

राष्ट्रपतिबाट दिएको एक हप्ताको समयमा दलहरुले सहमति गर्नुपर्ने बताउँदै उनले भने, ‘मेरो गोरुको बाह्रै टक्का भन्ने अडान छाडौँ र सहमति खोजौँ।’

अहिले काँग्रेसलाई नेतृत्व दिनुपर्छ भन्दै नेता नेपालले सहमतिको सरकारले मात्र संविधानसभाको चुनाव गर्न सक्ने उल्लेख गरे ।

एमाओवादीले दलहरुबीच भएका सहमति उल्लङ्घन गर्ने र तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले वर्तमान सरकारका कारण दलहरुबीचमा सहमति हुन नसकेको बताए । चितवनको बादरमुढे घटनाका दोषीहरु खुलेआम हिँडेको भन्दै नेता नेपालले उनीहरुलाई कारबाही नभएसम्म पीडितले न्याय नपाउने बताए ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी र नागेन्द्र चौधरीले सहमतिको बाधक एमाओवादी भएको भन्दै निकासका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे । रासस

Leave a Reply

Your email address will not be published.