प्रधानमन्त्रीले पद नत्यागेसम्म सहमति हुँदैन : खनाल

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराई पदबाट नहटेसम्म सहमति सम्भव नभएको बताएका छन्। उनले ‘प्रधानमन्त्री सहमतिको मुख्य बाधक रहेकाले उहाँले पद नछाडेसम्म कुनै सहमति नहुने स्पष्ट पारे। रिपोर्टर्स क्लब नेपालले गत बुधबारबाट सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’अन्तर्गत आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष खनालले सो कुरा बताएका हुन्।

अध्यक्ष खनालले वर्तमान सरकारले सत्ता नछाडेसम्म आफूहरुले भावी सरकारको नेतृत्वको नाम नदिने स्पष्ट पारे। राष्ट्रपतिको आह्वान नमानेर असंवैधानिक भन्दै हिँड्ने सरकार आफैं असंवैधानिक भएको उनको भनाइ थियो।
उनले संविधान बनाउने भन्ने कुरा अहिले सहमतिको सरकार बनाउने कि नबनाउने भन्ने विषयसँग गाँसिएको उल्लेख गर्दै सहमतिको सरकार नबनाउने हो भने मोर्चा र एमाओवादी नै संविधान निर्माणविरोधी भएको प्रष्ट हुने जिकिर गरे।
अध्यक्ष खनालले भने, ‘सहमतिको विकल्प अझै पनि नभएकाले सहमति कायम गराउनैका लागि एमालेले सरकारको नेतृत्वको दाबी गरेको छैन।’ रासस

Leave a Reply

Your email address will not be published.