एड्सबाट झापाका सत्रको मृत्यु

(झापा- झापामा एड्स लागेर पाँच वर्षयता मर्नेको सङ्ख्या १७ पुगेको छ। झापामा एड्सबाट सङ्क्रमित अहिले ४८ जना छन् भने एचआइभी सङ्क्रमित ३७० जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। गत चार पाँच वर्षयता परामर्श तथा जाँचका लागि जिल्लामा आउनेको सङ्ख्या १६ हजार ६०१ पुगेको छ। त्यसमध्ये ३७० जना सङ्क्रमित पाइएका छन्। जसमा महिला १५३ र पुरुष २१७ सङ्क्रमित रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

त्यस्तै, एड्स लागेका ४८ जनामा पुरुष २७ र महिला २१ जना छन्। मृत्यु भएका १७ जनामध्ये महिला चार र पुरुष १३ जना रहेको जनस्वास्थ्य अधिकृत बज्रेश मेहताले जानकारी दिए। उनका अनुसार प्रत्येक महिना एचआइभी सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको छ। गत साउनमा ७, भदौमा ५ र असोजमा १० जना वृद्धि भएका छन्। जिल्लामा प्रायः महिला यौनकर्मी तथा तिनका ग्राहक र लागुऔषधको सुई प्रयोगकर्तामा एचआइभी सङ्क्रमित अत्यधिक मात्रामा पाइएको तथ्याङ्कमा उल्लेख छ।

मुलुकभरि परामर्श तथा जाँचका लागि आउनेको अनुमानित सङ्ख्या ५५ हजार ६२६ छ भने एचआइभी सङ्क्रमित २० हजार १९८ रहेको जनाइएको छ। एचआइभी लागेकालाई औषधि र जाँच गर्ने यन्त्र जिल्लामा नभएकाले अहिलेसम्म सङ्क्रमितहरुले धरान बिपी मेमोरियल अस्तापलमा धाउने गरेका छन्। उनीहरुको लागि अब मेची अञ्चल अस्पतालमा एक महिनापछि सिडीफोर काउन्टिङ मेसिन ल्याउन लागिएको मेहताले बताए।
मेहताका अनुसार जिल्लाका चारवटा ठाउँमा एचआइभीसम्बन्धी भिसिडी जाँच गरिन्छ। अब आजबाट शिवगञ्ज र सुरुङ्गामा पनि यो सेवा सुरु गरिएको छ। यसअघि काँकडभिट्टा, बिर्तामोड, दमक र भद्रपुरमा थियो। जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गतको जिल्ला एड्स समन्वय समितिकी समन्वयकर्ता लिवर्टी श्रेष्ठका अनुसार जिल्लामा एचआइभी एड्ससम्बन्धी रोकथाममा नाइटचेस क्लब काँकडभिट्टा, नेपाल परिवार नियोजन सङ्घ चारआली, सहारा नेपाल बिर्तामोड, ब्लु डाइमण्ड सोसाइटी दमक, मेची अञ्चल अस्पताल भद्रपुरलगायतले काम गरिरहेका छन्। रासस

Leave a Reply

Your email address will not be published.