राष्ट्रपतिलाई अगाडि सारेर शक्ति केन्द्रको रूपमा स्थापित गर्न खोजे : बोगटी

भक्तपुर- संस्कृति तथा पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले नेपाली काँग्रेस, नेकपा (एमाले)ले आलङ्कारिक राष्ट्रपतिलाई अगाडि सारेर शक्ति केन्द्रको रूपमा स्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ। एनेकपा (माओवादी) गुण्डु गाउँ कमिटीको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रपतिलाई शक्तिका रुपमा लिएर जाँदा भोलि देशलाई नै सङ्कट पर्ने दाबी गरे ।
मन्त्री बोगटीले भने,आलङ्कारिक राष्ट्रपतिलाई शक्ति केन्द्रको रुपमा अगाडि सार्दा भोलि त्यही समस्या हुन सक्छ, यसलाई काँग्रेस र एमालेले बुझ्नु जरुरी छ।’
काँग्रेस, एमालेले राष्ट्रपतिलाई अगाडि सारेर निर्वाचनमा जान नचाहेको आरोप लगाउँदै उनले काग्रेस, एमाले निर्वाचनमा जानुभन्दा पनि अस्थिरता निम्त्याउनतिर लागेको आरोप लगाए ।

चुनावमा विश्वास गरेर जानुपर्नेमा जोड दिँदै उनले अब निर्वाचनमा जानुको विकल्प नभएकाले काँग्रेस, एमालेलाई निर्वाचनमा आउन आग्रह गरे ।
यसैबीच एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्याकेजमा सहमति भएमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न सकिने बताएका छन् ।
एकीकृत नेकपा माओवादी गणेस्थान गाउँ विकास समितिको प्रथम गाउँ अघिवेशनलाई आज यहाँ सम्बोधन गर्दै नेता सापकोटाले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाटै संविधानलगायतका बुँदामा काँग्रेसले सहमति जनाए उसको नेतृत्वमा सरकार गठन हुने बताए ।
नेपाली काँग्रेस र नेकपा (एमाले)ले परिवर्तनलाई आत्मसात् गर्न नसकेकाले र विभिन्न जनजातिलाई अधिकार सम्पन्न बनाउन नखोजेकै कारण संविधानसभा विघटन भएको उनको दाबी थियो।
कार्यक्रममा पूर्वमन्त्री हितबहादुर तामाङले अन्य दलहरूको स्वार्स्थका कारण जनताको बलिदान र लामो सङ्घर्षबाट प्राप्त गणतन्त्र गुम्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे । रासस

Leave a Reply

Your email address will not be published.