मन्त्री त्रिपाठीद्वारा तीनटा पुलको शिलान्यास

परासी- नवलपरासीका विभिन्न तीन खोलामा निर्माण हुने पुलको भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले शिलान्यास गरेका छन्। मन्त्री त्रिपाठीले पक्लिहवा गुठीप्रसौनी जोड्ने टुटहवा खोलामा रु दुई करोड ८२ लाखको लगानीमा ३१ मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको पुलको शिलान्यास गरेका हुन्। 
यस्तै सोमनी गाविसको खजुरा खोलामा रु तीन करोड ६२ लाख ८६ हजारको लागतमा निर्माण हुने ८२ मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको पुलको पनि शिलान्यास गरिएको छ।
यसैगरी भुजहवा र रामपुरखडौना गाविस जोड्ने धनेवा खोलामा निर्माण हुने पुलको शिलान्यास गरिएको छ।
भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले प्रतापपुर गाविसको बेलाटारीमा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा निर्माण गरिएको चारकोठे विज्ञान सङ्कायको भवनको पनि शिलान्यास गरेका हुन्।

नवलपरासीका तीन गाविसका पुल निर्माण हुने भएपछि नवलपरासीका त्यस क्षेत्रका स्थानीयवासीलाई वर्षात्को समयमा आवतजावत गर्नमा सहज हुने भएको छ। रासस

Leave a Reply

Your email address will not be published.