मनिषाको पाठेघरमा क्यान्सर

अभिनेत्री मनिषा कोइरालाको पाठेघर क्यान्सरको बुधबार मुम्बईमा शल्यक्रिया गरिएको छ। दुई दिनअघि मुम्बईस्थित जसलोक अस्पताल भर्ना गरिएकी उनको पाठेघर शल्यक्रिया गरिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। तल्लो पेटमा अचानक समस्या आएपछि मनिषालाई आइतबार राजधानीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। नर्भिकले थप उपचारका लागि दिल्ली रेफर गरेपछि मंगलबार दिउँसो उनलाई जसलोक भर्ना गरिएको थियो।
पारिवारिक स्रोतका अनुसार चिकित्सकले क्यान्सर दोस्रो चरणमा रहेकाले सहजै शल्यक्रिया भएको, स्वास्थ्यमा सुधार आउने आशा व्यक्त गरेका छन्।

‘मनिषालाई उनकी आमाले उपचार गराउन मुम्बई लगेकी हुन्,’ स्रोतले भन्यो, ‘केहीअघिदेखि तल्लो पेटमा समस्या थियो, मंसिर १२ गते अस्पताल भर्ना भएपछि पाठेघर क्यान्सर देखियो।’ नर्भिकमा उनको उपचार डा. मधु घिमिरेको टोलीले गरेको थियो। क्यान्सरको आशंका भएपछि परिवारको सल्लाहमा चिकित्सकले दिल्ली रेफर गरेको नर्भिक स्रोतले जनायो।

‘केही दिनअघि नर्भिकमा उनलाई भेट्न जाँदा सामान्य अवस्थामै थिइन्। एक्कासि क्यान्सर भएको सुन्दा छक्क परेँ,’ मनिषाकी एक आफन्तले नागरिकसँग भनिन्, ‘उनकी आमासँग थप बुझ्दैछु।’

सुरुमा नर्भिकका चिकित्सकले मनिषालाई ‘फुड प्वाइजनिङ’ आशंकामा उपचार भइरहेको सञ्चारकर्मीलाई बताएका थिए। बेहोस नै हुन थालेपछि भने विभिन्न परीक्षणले क्यान्सरको आशंका बढाएको थियो। पारिवारिक स्रोतका अनुसार बाबु प्रकाश र भाइ सिद्धार्थ पनि मुम्बई पुगिसकेका छन्।

मनिषा नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी हुन्। बिपीको परिवार नै क्यान्सरपीडित थियो। कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएका बिपी, केशव र तारणीप्रसाद तिनैजनाको क्यान्सरबाट मृत्यु भएको थियो। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पनि क्यान्सरकै कारण मृत्यु भएको हो। चिकित्सकहरुले गिरिजाप्रसादलाई क्यान्सर भएको खबर अन्तिमसम्म गोप्य राखेका थिए। तारिणीकी छोरी कल्पनाको पनि क्यान्सरबाट मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published.