फिफा वर्ष खेलाडी को बन्ला ?

(एजेन्सी)- लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र आन्द्रेज इनिस्टा बिहीबार फिफा विश्व वर्ष खेलाडीको अन्तिम मनोनयनमा परेका छन्। बार्सिलोनाका २५ वर्षे अर्जेन्टिनी फरवार्ड मेसीले यसअघि लगातार तीनपटक यो उपाधि जितिसकेका छन्। यसपालि जनवरी ७ मा जुरिचमा हुने अवार्ड कार्यक्रममा पनि उनैलाई वर्ष खेलाडीको मुख्य दाबेदारमा लिइएको छ। राष्ट्रिय टोलीका प्रशिक्षक तथा कप्तान र पत्रकारको मतका आधारमा विजेताको टुंगो लगाइने प्रावधान छ।

लगातार तीनपटक विश्व वर्ष खेलाडीको पुरस्कार जित्ने युइएफएका अध्यक्ष एवम् फ्रान्सेली फुटबलका महान् हस्ती मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरिसकेका मेसी यसपालि पनि जितेमा उनी चारपटक विश्वको उत्कृष्ट खेलाडी बन्ने पहिलो खेलाडी हुनेछन्। डच स्टारहरू योहान क्रायफ र मार्को भान बास्टेनले पनि तीनपटक उपाधि जितेका छन्।

फिफा अध्यक्ष सेप ब्लाटरले बिहीबार साओ पाउलोमा अन्तिम मनोनयन सार्वजनिक गरे। उनले प्रशिक्षक विधाको पनि मनोनयन सार्वजनिक गरे। प्रशिक्षकमा स्पेनका भिसेन्टे डेल बोस्की, रियाल मड्रिडका जोजे माउरिन्हो र बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला अन्तिम मनोनयनमा परेका छन्।

Leave a Reply

Your email address will not be published.