दुई–चार दिनभित्रै सहमति : दाहाल

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले दुई–चार दिनभित्रै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती राष्ट्रिय समितिको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “दुई–चार दिन ढिलाछिटो कुरा हो, दलहरुबीच सहमति भएर समस्या समाधान हुन्छ।”

उनले १२ बुँदे सहमतिको जगमा अन्तरिम संविधान भित्रैबाट सहमति खोज्नुको विकल्प नरहेको उल्लेख गरे। नेपालका राजनीतिक दलहरुको आन्दोलन गर्न त जान्ने तर आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न नजान्ने बानीले प्राप्त उपलब्धिको गुम्ने खतरा उत्पन्न भएकोमा अध्यक्ष दाहालले सचेत गराए।
उनले भने, “अरु देशमा जसका विरुद्ध क्रान्ति भएको थियो त्यसलाई दण्डीत गर्ने गरियो र त्यहाँ प्राप्त उपलब्धिहरु संस्थागत भए तर नेपालमा २००७, २०४६ होस् वा २०६३ साल जसका विरुद्ध क्रान्ति भयो उनीहरुसँग सम्झौता गर्दै उनीहरुलाई दण्ड नदिइ छुट दिइयो यसले गर्दा नेपालमा सधैँ उपलब्धिहरु संस्थागत हुन नसकेको त होइन भन्ने प्रश्न उब्जिएको छ।”

अहिले समाजमा निष्ठा र आदर्श कमजोर हुने तथा व्यक्तिवाद र उपयोगितावाद बढ्दै जाने अवस्था देखिएकाले त्यसको असर निजामती सेवामा पनि पर्दै गएको बताउँदै उहाँले व्यक्तिगत स्वार्थमा नलागेर जनताको सेवा नै सर्वोपरी ठानेर काम गर्न निजामती सेवाका कर्मचारीहरुलाई आग्रह गरे।
अध्यक्ष दाहालले राज्यको व्यवस्थापकीय अङ्गमा ट्रेड युनियनहरुबाट पाँचदेखि दश प्रतिशतसम्म आरक्षण हुने विश्वव्यापी मान्यता नेपालमा पनि लागु गर्नुपर्ने पक्षमा आफ्नो पार्टी भएको बताउँदै सो प्राप्तिका लागि सबै ट्रेड युनियनहरु एकताबद्ध भएर आन्दोलनमा लाग्न आग्रह गरे।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले निजामती सेवासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेर रोकिएकोप्रति सङ्केत गर्दै सो अध्यादेश ल्याउन दबाब दिन सबै कर्मचारी सङ्गठनहरु एक भएर आन्दोलित हुन जरुरी रहेको बताए।
एमाओवादीका जनवर्गीय सङ्गठन विभाग प्रमुख जर्नादन शर्माले टे्रड युनियन अधिकार प्राप्तिका लागि कर्मचारी सङ्गठनहरुले राज्यलाई थप दबाब दिन जरुरी रहेको बताए।
नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले निजामती कर्मचारीहरु विभिन्न सङ्घसङ्गठनमा आबद्ध भएपनि उनीहरुले व्यावसायिक दक्षता र कार्यक्षमतामा कमी हुन दिन नहुनमा सचेत हुन जरुरी रहेको टिप्पणी गरे।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष पवित्रा तिमिल्सिना, नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष भोला पोखरेल, नेपाल निजामती कर्मचारी सङ्घका अध्यक्ष शोभाकर रेग्मी, नेपाल मधेेसी निजामती कर्मचारी सङ्गठनका अध्यक्ष विनोदकुमार सिंह, राष्ट्रसेवक कर्मचारी सङ्गठनका अध्यक्ष शरणकुमार गुरुङलगायतले आधिकारिक ट्रेड युनियनको चुनाव तुरुन्त हुनुपर्ने बताए। रासस

Leave a Reply

Your email address will not be published.