एमालेले नेपाल नेतृत्वको वार्ता टोली क्रियाशील बनाउने

काठमाडौं- नेकपा (एमाले)को पोलिटब्युरो बैठकले सहमतीय सरकारका लागि पहलकदमी लिनका लागि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित वार्ता समितिलाई क्रियाशील बनाउने निर्णय गरेको छ। पार्टी मुख्यालय बल्खुमा दुई दिनसम्म चलेको बैठकले राष्ट्रपतिको आह्वानअनुरूप राजनीतिक सहमतिको सरकार गठन गर्न सक्रिय पहलकदमी लिने र त्यसका लागि नेता नेपाललाई जिम्मा दिने निर्णय गरिएको सचिव विष्णु पौडेलले जानकारी दिए। 
बैठकले राष्ट्रपतिबाट सहमतीय सरकारका लागि गरिएको आह्वानलाई स्वागत गर्ने, राष्ट्रपतिको आह्वानविरुद्ध मन्त्रिपरिषद्ले असंवैधानिक भनी गरेको निर्णय सर्वसत्तावाद भएको तथा सत्ता नछाड्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गर्ने निर्णय गरेको छ।

बैठकमा पार्टी विधान संशोधनका लागि आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौंमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने र सोको व्यवस्थापनको जिम्मेवारी उपत्यका समन्वय समितिलाई दिने निर्णय गरिएको सचिव पौडेलले जानकारी दिए।
समसामयिक विषयमा निर्णय लिन एमालेले आगामी मङ्सिर २५ देखि २७ गतेसम्मका लागि पार्टी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। केन्द्रीय सदस्य डिल्लीबहादुर महतको निधन, उपाध्यक्ष वामदेव गौतमकी आमा पद्यमादेवी गौतमको निधन भएकोमा उहाँहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनप्रति एमालेले समवेदना प्रकट गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.