शीतलनिवास र बालुवाटारबीच कुनै तिक्तता छैन : प्रधानमन्त्री

बागलुङ- प्रधानमन्त्री बाबुराम भट्टराईले बाहिर प्रचारमा आएजस्तो शीतलनिवास र बालुवाटारबीच कुनै तिक्तता र असमझदारी नरहेको बताएका छन्। धौलागिरि अञ्चल अस्पतालको उद्‍घाटन कार्यक्रममा प्रतिपक्ष दलहरूलाई लक्षित गर्दै प्रधानमन्त्री भट्टराईले भने, ‘राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न कसैले उक्साउँदा समस्या उत्पन्न भएको हो।’
प्रधानमन्त्री भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले कार्यकारी अधिकार हातमा लिँदा पतन भएको इतिहास ताजै भएको उल्लेख गर्दै राष्ट्रपति पनि कार्यकारी बन्न खोजे पुरानै इतिहास दोहोरिने बताए। राष्ट्रपतिसँग आफ्नो कुनै कटुता नभएको प्रष्ट पार्दै प्रधानमन्त्री भट्टराईले उहाँलाई कुनै पनि विवादमा नल्याई सम्मानपूर्वक राख्नुपर्ने बताए।
उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबीच जुन असमझदारी आएको छ, यो अन्तिरिम संविधानमा रहेका जटिलताका कारणले आएको कुरा हो।’ संविधान सभाको अवसानपछि चुनावबाहेक अर्को विकल्प नभएको बताउँदै प्रम भट्टराईले सरकारको नेतृत्व कस्ले गर्नेभन्दा पनि चुनाव कसरी निष्पक्ष, सहभागितामूलक र स्वतन्त्र बनाउने भन्ने विषय महत्वपूर्ण बन्नुपर्ने बताए।
स्थायी सरकार नभएसम्म देशले गति लिन नसक्ने बताउँदै उनले सरकारको नेतृत्वभन्दा पनि देशलाई कसरी सङ्क्रमणकालबाट मुक्त गराउन सकिन्छ भन्ने विषयमा दलहरू केन्द्रीत हुनुपर्नेमा जोड दिए। धौलागिरि अञ्चल अस्पताललाई मेडिकल कलेजसँग जोडेर लैजाने सोच बनाउन आग्रह गर्दै प्रधानमन्त्री भट्टराईले आमनागरिकको साझा दायित्व बन्नसके अस्पतालको स्तरोन्नति गरेर लैजान सकिने बताए।
सुविधा सम्पन्न अस्पताल राजधानीमा केन्द्रित हुँदा बहुसङ्ख्यक जनताले स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको बताउँदै उनले भने, ‘दुर्गमका जनतालाई नैसर्गिक अधिकारका रुपमा स्थापित स्वास्थ्य सेवा प्राप्त गर्न सरकार सहयोग गर्न तत्पर छ।’
यसैबीच धौलागिरि अञ्चल अस्पताल बागलुङको नवनिर्मित भवन उद्घाटनका लागि बागलुङ आएका प्रधानमन्त्री भट्टराईलाई विपक्षी दलसँग सम्बद्ध विद्यार्थी सङ्गठनले कालो झण्डा देखाएर विरोध जनाएका छन्। अस्पतालको भवन उदघाटन सकेर कार्यालय प्रमुखहरूलाई निर्देशन दिन बालमन्दिर सभाहल जाँदै गर्दा प्रधानमन्त्रीलाई नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताले कालोझण्डा देखाएका हुन्।
प्रमलाई कालोझण्डा देखाएपछि प्रहरीले उनीहरूमाथि लाठी प्रहार गरेको थियो। प्रहरीको लाठी प्रहारबाट नेविसङ्घका जिल्ला अध्यक्ष हरिहर शर्मा, अनेरास्ववियुका जिल्ला अध्यक्ष नारायण पौडेल, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष रिम रोका, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम खत्री, नेविसङ्घका जोगलाल बुढा, पूर्ण आचार्य, बालकृष्ण शर्मालगायत घाइते भएको अनेरास्ववियुका अध्यक्ष नारायण पौडेलले जानकारी दिए।
एकीकृत सेवा केन्द्र उद्‍घाटन
प्रधानमन्त्री बाबुराम भट्टराईले आजै बुर्तिबाङस्थित एकीकृत सेवा केन्द्रको उद्‍घाटन गरे। सो अवसरमा उनले राज्य सङ्कटपूर्ण अवस्थामा रहेकोले चाहेअनुरुप दुर्गमका जनताका आवश्यकता पूरा गर्न नसकेको बताए। कार्यक्रममा गृह मन्त्रालयका सहसचिव भोलाप्रसाद सिवाकोटीले सरकारले जनताको सेवाका लागि स्थानीयस्तरमै कार्यालय स्थापना गरी सहज सेवा प्रदान गर्न एकीकृत कार्यालयको स्थापना गरेको जानकारी दिए।
सो अवसरमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार तथा विद्युत् खानेपानीलगायतका समस्या समेटिएका ज्ञापनपत्र प्रमलाई हस्तान्तरण गरिएको थियो। ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्रीले बुर्तिवाङ क्षेत्रका जनताका मागलाई सम्बोधन गरिने बचन दिए। रासस

Leave a Reply

Your email address will not be published.