कोइरालालाई सहमतीय प्रधानमन्त्री बनाउने प्रयास : नेता उपाध्याय

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले सभापति सुशील कोइरालालाई सहमतीय सरकारको नेतृत्व दिन विवाद नरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेता उपाध्यायले सबै दलहरूको सहमतिमा सभापति कोइरालालाई सरकारको नेतृत्व लिनका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई प्रस्तावक र समर्थकका रूपमा समर्थन जुटाउने प्रयास भइरहेको जानकारी दिए। 
एनेकपा (माओवादी)का नेता हरिबोल गजुरेलले वर्तमान सरकारका प्रमुख डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके वर्तमान परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकार गठन हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए।
नेकपा (एमाले)का नेता गोकर्ण विष्टले प्रधानमन्त्री बाबुराम भट्टराईबाहेक अन्य दलका उम्मेदवारलाई सहमतिमा स्वीकार्न सकिने उल्लेख गर्दै नेपाली कांग्रेसले नेतृत्व लिएमा आफ्नो दललाई स्वीकार्य हुने बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक जतासुकै गए पनि सत्ता नछोड्ने माओवादीको नीति रहेको आरोप लगाउनुभयो। उनले वर्तमान सङ्कट समाधान गर्न सहमति गर्नु वा आन्दोलनमा जानुको विकल्प नरहेको बताए।
मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले राष्ट्रिय सहमतिको सरकार गठनका लागि चारदलले सहमतिको दायित्व निर्वाह नगरेको आरोप लगाउँदै मधेसीहरूको मागलाई स्वीकार गर्ने दललाई मोर्चाको समर्थन रहने बताए। रासस

Leave a Reply

Your email address will not be published.