राष्ट्रपतिको आह्वानले मुठभेड निम्त्याउने : बोगटी

त्रिशुली- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले सहमतिको सरकारका लागि राष्ट्रपति रामवरण यादवले गरेको आह्वान राजनीतिक सङ्कट हल गर्नभन्दा पनि राजनीतिक मुठभेड निम्त्याउनेतर्फ अग्रसर भएको बताएका छन्। आज विदुरमा क्रान्तिकारी पत्रकार सङ्घले गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बोगटीले दलहरुलाई सहमतिको सरकारका लागि सात दिनको म्याद दिएर गरेको आह्वानको पक्ष र विपक्षमा नबोली तोकिएको म्यादमा सहमति नभए के हुन्छ भनेर चिन्तन गर्नुपर्ने बताए। 

दलहरुले राष्ट्रपतिमा अधिकार केन्द्रीत गराउने भनेर चलखेल समेत भइरहेको दाबी गर्दै एकीकृत माओवादीका सचिवसमेत रहेका मन्त्री बोगटीले राष्ट्रपतिलाई विपक्षीले उक्साउँदै अधिकार सुम्पिए दलहरु निस्प्रभावी हुने बताए। उनले भने, ‘राष्ट्रपतिलाई अधिकार दिन चलखेलसमेत भएको छ। यसले दललाई कमजोर बनाउँछ र त्यो अधिकार राष्ट्रपतिबाट पनि अन्तै जाने खतरा उत्तिकै छ।’
एमाओवादी हदैसम्म लचिलो भएको दाबी गर्दै मन्त्री बोगटीले अहिलेको सहमतिको मुख्य बाधक नेपाली कांग्रेस र नेकपा (एमाले) भएको आरोपसमेत लगाए। रासस

Leave a Reply

Your email address will not be published.