जनगणना २०६८ को नतिजा सार्वजनिक

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले समावेशी नीति अङ्गालेको नेपालको विकासका लागि उचित र वस्तुनिष्ठ तथ्याङ्कले सहयोग पुर्‍याउने बताएका छन्। आज केन्द्रीय तथ्याङ्क विभागले आयोजना गरेको राष्ट्रिय जनगणना २०६८को नतिजा सार्वजनिक गर्दै प्रधानमन्त्रीले वस्तुनिष्ठ तथ्याङ्कले नै देश विकासका लागि सहयोग गर्ने बताएका हुन्।

विसं २०५८ पछिको तथ्याङ्कबाट केही आस गर्ने ठाउँ रहे पनि सन्तोष गर्ने अवस्था भने नरहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘शिक्षाको क्षेत्रमा केही उल्लेखनीय प्रगति भएको छ, तर यो पूर्ण होइन, यसलाई सुधार गर्न अझै पनि सरकारले प्रयास गर्नुपर्ने अवस्था छ।’

हिमाल, पहाड र तराईको जनसङ्ख्याको अवस्था असमान रहनुको पछाडि विकास र अवसरको उपयोगले प्रभाव पारेको हुनसक्ने बताउँदै प्रधानमन्त्रीले समान विकासका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिए।
तथ्याङ्क सङ्कलनका लागि वैज्ञानिक र वस्तुनिष्ठ विधि अवलम्बन गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले राज्यको हरेक निकायलाई प्रभाव पार्ने जनसाङ्ख्यिक विवरण पनि वस्तुनिष्ठ हुनुपर्ने बताए।
ऊर्जाको उपभोगले सामाजिक अवस्थालाई चित्रण गर्ने भएकाले नेपालले ऊर्जाको क्षेत्रमा धेरै लगानी गर्नुपर्ने अवस्था राष्ट्रिय जनगणना २०६८को तथ्याङ्कले देखाएको तर्फ प्रधानमन्त्रीले इङ्गित गरे।

उनले जनसङ्ख्या वृद्धिदर घट्नु सुखद रहेको, यसमा सरकारी र गैरसरकारी निकायले गरेको प्रयास सफल भएको र चेतनास्तर वृद्धि गर्न सकियो भने जनसङ्ख्या वृद्धिलाई धेरै कम गर्न सकिने विश्वास व्यक्त गरे।
महिलाको सम्पत्तिमाथिको अधिकार बढ्न नसकेकोमा असन्तोष व्यक्त गर्दै उनले यसमा सरकारी प्रयास अझै प्रभावकारी हुन नसकेकोले सरकारले धेरै प्रयास गर्नुपर्ने बताए। त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सरकारको प्रयास केही क्षेत्रमा सफल भए पनि पूर्ण सफल नहुँदा खुसी हुनुपर्ने अवस्था नरहेको टिप्पणी गरे।
तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्लले कमभन्दा कम त्रुटीमा तथ्याङ्क सङ्कलन गर्न आफ्नो विभाग सफल भएको बताए। रासस

Leave a Reply

Your email address will not be published.