आन्दोलन सशक्त बनाउने कांग्रेसको निर्णय

काठमाडौं- राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान सभाको निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रमलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसका पदाधिकारी एवं काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको आज सभापति सुशील कोइराला निवासमा बसेको बैठकले आन्दोलनका कार्यक्रमलाई व्यापक जनपरिचालन गरी शान्तिपूर्ण ढङ्गले अघि बढाउने निर्णय गरेको हो।
एनेकपा (माओवादी) नेतृत्वको सरकारविरुद्ध कांग्रेस, एमालेलगायतका प्रतिपक्षी दलले आन्दोलनको कार्यक्रम घोषणा गरेको भोलिपल्टै कांग्रेसले त्यसलाई सशक्त बनाउने निर्णय गरेको हो। नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा कांग्रेस, एमालेलगायतका प्रतिपक्षी दलले मङ्सिर २ गतेदेखि सहमतीय सरकार गठनका लागि संयुक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
कांग्रेसको बैकठले दलहरुको आ–आफ्नो भागमा परेको कार्यक्रमलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गर्दै आन्दोलनमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ। बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रस्तावित आन्दोलनलाई प्रभावकारी बनाउने र कार्यविभाजन गरेर जानेबारेमा छलफल भएको बताए। आवश्यक परे पार्टी केन्द्रीय समितिको बैठक बसेर त्यसलाई औपचारिकता दिनेसमेत निर्णय भएको छ।
उनले राष्ट्रिय सहमति बेगर अघि बढे देशमा संविधान सभाको निर्वाचन पनि असम्भव हुन पुग्ने हुँदा यही बेलामा राष्ट्रिय सहमति तत्काल कायम गरी अघि बढ्नुपर्छ भने। प्रवक्ता दीलेन्द्रप्रसाद बडुले वर्तमान राजनीतिक र संवैधानिक सङ्कटको निकास निर्वाचनबाट मात्र सम्भव भएकाले अब सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गरी सहमतिको सरकार बनाएर बजेटदेखि सबै विषयमा सहमति खोज्नुपर्छ भन्नेमा छलफल भएको बताए।
उनले बजेटबारेको नेपाली कांग्रेसको अडान यथावत रहेको भन्दै राष्ट्रिय सहमतिको सरकारले मात्र दलीय सहमति जुटाएर बजेट ल्याउन सक्छ भने। रासस

Leave a Reply

Your email address will not be published.