बजेटबारे पूर्वअर्थमन्त्रीसँग एमाओवादी अध्यक्ष दाहालको छलफल

काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजेटमा सहमति जुटाउन आज पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। अध्यक्ष दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा पूर्वअर्थमन्त्री तथा गर्भनरहरुले बजेट राष्ट्रको लागि आवश्यक पर्ने र यसमा राजनीति गर्नभन्दा पनि सहमति जुटाएर नै जारी गर्न सरकारको नेतृत्व गरेको एमाओवादीले विशेष पहल गरेको जानकारी गराइएको थियो।

प्रतिपक्षी दलहरुले बजेटमा राजनीति गरेको र बजेटलाई राजनीतिक स्वार्थमा पार्न खोजको भन्दै छलफलमा बजेटलाई कुनै पनि हालतमा अवरोध नगर्न एमाओवादी अध्यक्ष दाहालले आग्रह गरेका थिए।
अरु विषयमा राजनीतिक सहमति जुट्न नसकेपनि बजेटमा राजनीतिक सहमति जुटाउन र समर्थन गर्न उनले पूर्व अर्थमन्त्रीहरुसँग आग्रह गर्नुभएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए।
अर्थमन्त्री पुनले भने, ‘आजको छलफल महत्वपूर्ण रहेको छ, छलफलबाट आशा पलाएको छ, राष्ट्रको आवश्यकता र चाहनाअनुसार नै बजेट ल्याउनुपर्दछ भन्नेमा सबै पूर्व अर्थमन्त्रीहरुको सहमति रहेको थियो।’
आ–आफना पार्टीको राजनीतिक अडान भए पनि बजेटका सवालमा एकमत भएरै जानेमा समग्ररुपमा सहमति रहेको थियो, तैपनि उनीहरुले आ–आफनो ‘रिजरर्भेसन’ भने राख्नुभयो, छलफलपछि अर्थमन्त्री पुनले जानकारी दिए। सरकारले भोलि राष्ट्रपति रामवरण यादव समक्ष बजेट अध्यादेश पेस गर्ने तयारी गरेको छ। सोही विषयमा अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेको दलको अध्यक्षको हैसियतले छलफल गर्नुभएको मन्त्री पुनको भनाइ छ।

छलफलमा पूर्वअर्थमन्त्री र पूर्वगर्भनरले एमाओवादीलाई राजनीतिक तहमा सहमति गरेर मात्र बजेट ल्याउन सुझाव दिएका थिए। ‘आजको छलफलमा हामीले राजनीतिक तहमा सहमति गरेर बजेट ल्याउन सुझाब दियौँ, छलफल सकारात्मक रह्यो” छलफलपछि नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलले जानकारी दिए।
उनले भने, ‘बजेटमा सहमति जुटाउन एमाओवादीले गरेको छलफल सकारात्मक रहेको छ, हामीले यस खालको छलफल अगाडि नै गरेको भए अझ राम्रो हुने थियो भन्ने पनि धारणा राख्यौं, बजेट समयमै आउनुपर्दछ भन्नेमा नै हाम्रो धारणा रहेको थियो।’

त्यस्तै, छलफलमा सहभागी नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले आफूहरुले सहमति गरेर बजेट ल्याउन एमाओवादी अध्यक्ष दाहाललाई सुझाव दिएको बताए।

उनले भने, ‘बजेट राष्ट्रका लागि आवश्यक छ, आर्थिक सङ्कट मुलुकमा उत्पन्न गर्नु हुँदैन तर बजेट ल्याउन राजनीतिक दलहरु बीचमा सहमति हुनु आवश्यक छ, कांग्रेसको तर्फबाट मैले यही धारणा राखेको छु।’

उनले एमाओवादी अध्यक्ष दाहाल पनि सहमतिका आधारमा बजेट ल्याउने पक्षमा रहेको आफूले पाएको बताए। यस्तै छलफलमा सहभागी पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका विषयमा दलहरुसँग छलफल गरेर मात्रै प्रक्रिया अगाडि बढाउन एमाओवादीसँग आग्रह गरेको बताए।
उनले भने, ‘बजेट रोक्ने भन्ने हाम्रो धारणा होइन र त्यस खालको नियत पनि हाम्रो होइन। राजनीतिक सहमतिमा मात्रै बजेट ल्याउनुपर्छ, त्यसका लागि सरकार र एमाओवादीको विशेष भूमिका रहनुपर्दछ भन्ने मात्रै हाम्रो भनाइ हो।’

एमाओवादी अध्यक्ष दाहालले आजै नेपाली कांग्रेस, नेकपा(एमाले) लगायतका विपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ। पूर्व अर्थमन्त्रीहरुसँगको छलफल सकारात्मक रहेकाले शीर्र्ष नेताहरुसँग बजेटकै विषयमा सहमति जुटाउनका लागि छलफल गर्न लागिएको अर्थमन्त्री पुनले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.