राष्ट्रपतिबाट सहमति कायम गर्न अध्यक्ष दाहाललाई सुझाव

काठमाडौं- राष्ट्रपति रामवरण यादवले एक दुई दिनभित्रै बजेटको विषयमा सहमति कायम गर्न एनेकपा (माओवादी) का अधयक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान करिब एक घन्टा भएको भेटवार्तामा उनीहरूबीच बजेट, नयाँ निर्वाचनलगायत विषयमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रपति यादवले दलहरूबीच लामो समयसम्म सहमति कायम हुन नसकेकामा चिन्ता व्यक्त गरे।

राष्ट्रपतिले सत्तारुढ दलका अध्यक्ष तथा ‘ठूलो पार्टी’का नेताको हैसियतले दलहरूबीच सहमति कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए। सो अवसरमा राष्ट्रपतिले विपक्षी राजनीतिक दलको लिखित माग आएपछि बजेटसम्बन्धी विषय जटिल बनिरहेकाले सो विषयमा दलहरूबीच सहमति हुन जरुरी रहेको भनाइ राखेका थिइ। राष्ट्रपतिसमक्ष अध्यक्ष दाहालले दलहरूबीच सहमति कायम गरी बजेटलगायत वर्तमान राजनीतिक र संवैधानिक गतिरोध अन्त्यका लागि आफूले सक्दो प्रयास गर्ने बचन दिए।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले बजेटका लागि हरसम्भव सहमतिको प्रयास गरिने जनाउँदै यदि त्यो सम्भव नभए बजेट नरोकिने र यस विषयमा अगाडि बढ्ने प्रतिक्रिया दिए। रासस

Leave a Reply

Your email address will not be published.