झरनालाई मलेसियाबाट सहयोग

त्रिशुली- मलेसियाको कारागारमा मृत्युदण्डको सजाय सुनाइएका बर्सुन्चेतका हरिबहादुर घलेकी छोरी झरनाको शैक्षिक क्रियाकलापका लागि मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन्। नौ वर्षअघि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परी अहिले मृत्युदण्डको सजाय सुनाइएका हरिबहादुरकी एकमात्र छोरी झरनाको शिक्षामा सहयोग पुर्‍याउन मलेसियामा काम गर्ने नेपालीले रु ६२ हजार २३५ सङ्कलन गरी पठाएको हरिबहादुरका भाइ टेकबहादुरले बताउनुभयो। मलेसियाको बाघसार भिलेज कम्पनीमा कार्यरत गोविन्दप्रसाद रिजालको अगुवाइमा सोही कम्पनीमा कार्यरत नेपालीले उक्त रकम सहयोग प्रदान गरेका हुन्। उक्त रकम दुई दिनअघि नेपाल आइपुगेको हो।

त्रिशुलीस्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत झरनाको नाममा बैंकमा खाता नै सञ्चालन भए पनि अरू रकमसमेत सङ्कलन गरेर पठाइने जानकारीसमेत आएको टेकबहादुरले बताउनुभयो। मृत्युदण्डको फैसलापछि विदेशमा रहेका नेपालीले हरिबहादुरको परिवारलाई सहयोग गरेका हुन्। नेपाल सरकारले मृत्युदण्ड रोक्नका लागि प्रभावकारी पहल नगरेको भन्दै मलेसियामा रहेका नेपालीले आक्रोश व्यक्त गरेको समेत बताइएको छ।

नेपाल सरकारले मृत्युदण्ड रोक्नका लागि मलेसिया सरकारलाई लेखेको पत्र त्यहाँको संसद्मा पेस भएपछि त्यहाँका राजाले माफी दिएमा मात्र हरिबहादुर ज्यान बच्नेछ। अन्यथा त्यहाँको सर्वोच्च अदालतले अन्तिम फैसला गसिरसकेकाले हरिबहादुरलाई राजाले माफी नदिएमा मृत्युदण्ड पाउने निश्चित भएको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.