बजेट अस्वीकार गर्न १९ दलले राष्ट्रपतिलाई आग्रह गर्ने

काठमाडौं- प्रतिपक्षी १९ दलको आजको बैठकले सरकारले ल्याउने बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा–माओवादीसहित १९ दलको बैठकपछि ती दलहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा असंवैधानिक प्रक्रियाबाट बलपूर्वक अध्यादेशमार्फत सरकारले ल्याउने बजेट स्वीकृत नगर्न र सहमतिका आधारमा बजेट ल्याउन सरकारलाई निर्देशन दिन राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरिएको उल्लेख छ।

त्यस्तै विज्ञप्तिमा वर्तमान जटिल परिस्थितिमा देश, जनताप्रति जिम्मेवार भएर प्रधानमन्त्री डा बाबुराम भट्टराईले पद छोडी राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न माग गरिएको छ।बैठकले वर्तमान सरकारले ल्याउने बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिए।
निर्वाचनलाई प्रभावित पार्ने गरी बिनासहमति सरकारले बजेट ल्याउने तयारी गरेकाले आफूहरुले बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको श्री देउवाको भनाइ थियो।

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकार कानुनीरुपमा असंवैधानिक भइसकेकाले यो सरकारले ल्याउने बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको बताए। उनले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न प्रतिपक्षी दलहरुले आगामी शनिबार एमाले केन्द्रीय कार्यालय बल्खुमा पत्रकार सम्मेलनको अयोजना गरिने जानकारी दिए।
नेकपा–माओवादीका सचिव देव गुरुङले वर्तमान सरकार अवैधानिक भएकाले यो सरकारलाई आन्दोलनमार्फत अपदस्त गर्नुपर्छ भन्नेमा बैठकमा सहमति जुटेको बताए। बैठकको निर्णयबारे जानकारी दिन बैठकलगत्तै दलहरु राष्ट्रपति कार्यालय शीतल निवास लागेका छन्। रासस

Leave a Reply

Your email address will not be published.