दुर्घटनामा तीनको मृत्यु, करिब पच्चीस जना घाइते

रौतहट- रौतहटको धन्सरखोला नजिकै रहेको पूर्वपश्चिम राजमार्गको लच्कामा आज दिउँसो बस र ट्रक ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। रौतहटको पौराइ गाविसस्थित माझीटोलबाट रिजर्व गरेर यात्रु लिएर नवलपरासी जाँदै गरेको ना ३ ख २७१५ नम्बरको मिनी बस र पश्चिमबाट पूर्वतर्फ विद्युत् प्राधिकरणको सामान लिएर आएको ना १ घ ५३९ नम्बरको ट्रक दिउँसो करिब ४ बजे ठोक्किएको हो।

दुर्घटनामा मृत्यु हुनेहरुमा पौराइ–९ माझीटोलका ७० वर्षीया सनीचरी कुस्वार, नौ वर्षीय बालक विनायक कुस्वार, बसका चालक नवलपरासीका डोरे भन्ने दीपक विकको उपचारको क्रममा मृत्यु भएको हो।

केही घाइतेको चन्द्रनिगाहपुर अस्पतालमा र गम्भीर घाइते भएका २० जानभन्दा बढीलाई वीरगन्ज र भरतपुर थप उपचारको लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।

घाइते तथा मृत्यु हुनेहरु रौतहटबाट नवलपरासीमा इँटाभट्टामा मजदुरी गर्न हिँडेका थिए। दुर्घटनाको लगत्तै सशस्त्र, जनपथ तथा ट्राफिक प्रहरी तथा स्थानीययुवा पुगी घाइतेहरुको उद्धार गरेका थिए। दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा पौराई–९ का आठ वर्षीय सविन माझी, ४५ वर्षीया सानुमाया माझी, २८ वर्षीया सानी माझी, ३० वर्षीय कृष्ण माझी, २२ वर्षीय डल्ली माझी, ट्रकका चालक नारायण पौडेललगायत रहेको ट्राफिक प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.