छिटो सहमति बनोस् भन्ने राष्ट्रपतिको चाहना

काठमाडौं- राष्ट्रपति रामवरण यादवले देशमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुबीच छिटो सहमति बनोस् भन्ने चाहना राखेका छन्। आफ्नै निवास शीतलनिवासमा आज बिहान प्रधानमन्त्री बाबुराम भट्टराईसँग भएको भेटवार्तामा राष्ट्रपति डा यादवले त्यस्तो चाहना राखेका हुन्। भेटवार्तामा राष्ट्रपति डा यादवले प्रधानमन्त्री भट्टराईलाई सहमतिमै बजेट ल्याउन पनि आग्रह गरेका थिए।

‘राष्ट्रपतिले छिटो सहमति बनोस्, सहमतिबाटै बजेट आओस् भन्ने आग्रह गर्नुभयो,’ भेटपछि प्रधानमन्त्री डा भट्टराईले पत्रकारलाई भने। सो अवसरमा प्रधानमन्त्री भट्टराईले केही दिनयता प्रमुख राजनीतिक दलहरुबीच भएको छलफल तथा आज पनि प्रमुख दलका नेताहरुबीच राजनीतिक निकासका लागि वार्ता हुनेबारेमा राष्ट्रपति डा यादवलाई अवगत गराएका थिए।

छिटो राजनीतिक निकास खोज्न निर्वाचनमा जाने कि अरु विकल्प खोज्ने भन्नेबारेमा दलहरुबीच वार्ताको क्रम तीव्र बनेको बारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएश्र

‘साथै छिट्टै बजेट ल्याउन पर्‍यो, त्यसको निम्ति पनि सहमतिको प्रयास भइराखेको छ, यसबारेमा पनि मैले राष्ट्रपतिलाई बताएँ, छलफल एकदम सौहाद्रपूर्ण वातावरणमा भयो,’ प्रधानमन्त्री भट्टराईले भने।
दलहरुबीच केही समययता राजनीतिक निकासको लागि सहमतिको प्रयास भइरहे पनि त्यसबाट अझै परिणाम निस्कन नसकेको अवस्थामा आज राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।

राष्ट्रपति यादवले देशमा विद्यमान राजनीतिक सङ्कट दलहरुको सहमतिबाटै छिटो सुल्झाउनका लागि भोलि प्रमुख चार दलका शीर्ष नेतालाई छलफलको लागि बोलाउनु हुने भएको बुझिएको छ। रासस

Leave a Reply

Your email address will not be published.