फापरबारीमा लुटेराले गोली प्रहार गर्दा घाइते

हेटौँडा- मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने फापरवासी गाविस–६ का गन्जाबहादुर थिङको घरमा गएराति ५/६ जना लुटेराको एक समूहले गोली प्रहार गर्दा थिङको २० वर्षीय छोरा प्रदीप थिङ र छिमेकी बुद्धिमान स्याङ्तान गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवैको भरतपुर अस्पतालमा स्वास्थ्योपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।

लुटेरा समूहले पटकपटक गोली प्रहार गर्दा घरधनीको छोरा प्रदीपको खुट्टा एवम् छिमेकी बुद्धिमानको छातीमा गोली लागेको छ। लुटेराहरुले गन्जाबहादुरकी श्रीमती शुकमाया थिङको कानबाट एक तोला सुनको गहना र एउटा मोबाइल फोन लुटी लगेको फापरबारी इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले अहिले उक्त घटनामा संलग्न रहेको आशङ्कामा दुईजनालाई पक्राउ गरेको छ। यस घटनाबारे अनुसन्धान गर्न हेटौँडास्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयन्त थापासहितको प्रहरी टोली आज बिहान घटनास्थलतर्फ गएको छ। रासस

Leave a Reply

Your email address will not be published.