सिरहामा प्रहरी र गाँजा तस्करबीच भिडन्त, १५० किलो गाँजा बरामद

गोलबजार‍- सिरहाको तरेगना गोविन्दपुरमा प्रहरी र गाँजा तस्करबीच आज बिहान दोहोरो गोली हानाहान भएको छ। तरेगना गोविन्दपुर– ८ स्थित खेतमा प्रहरीचौकी महेशवारीका प्रहरी नायब निरीक्षक मित्र गुरुङको टोली र गाँजा तस्करबीच गोली हानाहान भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। गोली हानाहानपछि तस्करले छाडेको एक क्विन्टल ५० किलो गाँजा प्रहरीले बरामद गरेको छ। तस्करहरु फरार भएका छन्।

प्रहरीलाई देखेर गाँजा तस्करले गोली चलाएपछि प्रहरीले पनि गोली चलाउन बाध्य भएको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। तस्करले एक राउन्ड र प्रहरीले थ्री  नट थ्री राइफलबाट तीन राउन्ड फायर गरेको उनले बताए।

गाँजा तस्करहरु भारत जाँदै गरेको सूचना पाएपछि प्रहरी टोलीले तस्कर आउने बाटो कुरेर बसेको थियो। तस्करहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.