निर्णायक वार्ता गर्ने जिम्मेवारी प्रचण्डलाई

काठमाडौं- सत्ता साझेदार दलहरुको आजको बैठकले दुईदिनभित्र संविधान सभा पुनःस्थापना गर्ने वा ताजा जनादेश लिन निर्वाचनमा जाने भन्ने विषयमा निर्णायक वार्ता गर्ने जिम्मेवारी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको बैठकले नेपाली कांग्रेस, नेकपा (एमाले) सहित अन्य दलसँग छलफल गरेर दुई विकल्पमध्ये एकमा प्याकेजमै सहमति बनाउन अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

‘अब निर्णायक वार्ता गर्ने जिम्मेवारी सत्ता साझेदार दलहरुको गठबन्धनका संयोजकसमेत रहेका एमाओवादी अध्यक्षलाई दिने बैठकले निर्णय गर्‍यौं,’ बैठकपछि गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए।
उनले भने, ‘संवैधानिक रिक्तता छ, बजेटको शून्यता आउँदैछ यस्तो अवस्थामा गठबन्धनले भावी दिनका लागि समेत निर्णय लिन आवश्यक भएकाले वार्ताका लागि दुई दिनको समयसीमा तोकेका हौं।’

दुई दिनभित्र पनि सहमति ननिस्के सत्ता साझेदार गठबन्धनले मन्त्रिपरिषद् विस्तार, पूर्ण बजेटको तयारी, गठबन्धनले आयोजना गर्ने भनिएको सङ्घीयतासम्बन्धी आमसभाको मिति र स्थान घोषणा र वर्तमान सरकारको निरन्तरताबारे निर्णय गर्ने बताइन्छ। बैठकपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का महासचिव जीतेन्द्र देवले भने, ‘आज मन्त्रिपरिषद् विस्तार, सङ्घीयताबारे आयोजना गर्न लागिएको आमसभा, पूर्ण बजेटलगायतका विषयमा गम्भीर छलफल भयो।’
बैठकको सुरुमा गठबन्धनका संयोजक प्रचण्डले नेकाँ, एमालेलगायतका दलसँग भएका वार्ताबारे बैठकलाई जानकारी गराए। उनले आजसम्मको वार्तामा नेपाली कांग्रेस र एमाले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानमा टसमस नदेखिएको जानकारी गराउँदै संविधानसभा पुनःस्थापना गरी सहमति भएका विषयलाई समेटेर नयाँ संविधान जारी गर्न सकिने र यसमा सहमति हुन नसके निर्वाचनमा जान सकिने भनाइ बैठकमा राखेका थिए।
महासचिव देवले भने, ‘राजनीतिक गतिरोध अन्त्यका लागि गठबन्धनका संयोजक प्रचण्ड गम्भीर हुनुहुन्छ, एक दुई दिनभित्रै सहमतिको नयाँ ढोका खुल्छ।’ गठबन्धनको बैठकले राजनीतिक अन्योल चिर्न प्याकेजमा सहमति निकाल्न संयोजक प्रचण्डलाई भनेको छ। रासस

Leave a Reply

Your email address will not be published.