अमेरिकामा स्यान्डीको प्रभाव (फोटो फिचर)

न्युयोर्क, रोयटर्स– न्युयोर्क र न्युजर्सीलगायत अमेरिकाको उत्तरपूर्वी क्षेत्रका करोडौं बासिन्दा मंगलबार सवेरै बिउँझिँदा जलमग्न घर, लडिरहेका रुख र विद्युत आपूर्ति ठप्प भएको थियो। क्यारेबियन क्षेत्रबाट अमेरिका पसेको समुद्रीआँधी स्यान्डीले सोमबार न्युयोर्कका भूमिगत र सुरुङ मार्गसमेत जलमग्न बनाएको छ। स्यान्डीको प्रकोपमा ४० जनाको ज्यान गइसकेको छ। मौसमविदले स्यान्डी अहिलेसम्म अमेरिकामा आएको सबैभन्दा ठूलो र भयानक समुद्री आँधी भनेका छन्। स्यान्डी न्युजर्सीमा सोमबार राति पसेको थियो। म्यानहटनको तटीय क्षेत्रमा स्यान्डीका कारण १४ फिटसम्मका समुद्री छाल आएको छ। यसअघि सन् १९६० मा डोनाका कारण १० फिटको समुद्री छाल आएको थियो।
प्रशासनले अमेरिकाका दर्जन राज्यमा पूर्वी तटीय क्षेत्रमा बसोबास गर्ने १० लाखभन्दा बढीलाई घर छोडी पश्चिमी क्षेत्रका सुरक्षित स्थानमा जान अपिल गरेको थियो। प्राकृतिक प्रकोपबारे अनुमान गर्ने एक कम्पनीले स्यान्डीबाट २० अर्ब अमेरिकी डलर बराबर क्षति हुने अन्दाज गरेको छ। यसमध्ये १० अर्ब डलर बराबरको मात्र बिमा गरिएको उक्त कम्पनीले जनाएको थियो।
स्यान्डीले राष्ट्रपति निर्वाचनको एक सातापूर्व नै प्रचार अभियान बिथोलेको छ भने त्यहाँको आर्थिक कारोबार दुई दिन ठप्प पारेको छ। नोभेम्बर नौमा हुने राष्ट्रपति निर्वाचनको एक साताअघि आएको स्यान्डीले राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन उम्मेदवार मिट रोम्नी दुवैको प्रचार अभियान रद्द गराएको छ। न्युयोर्कका मौसमविद जेफ्रि टङले न्युयोर्कमा स्यान्डीको गति ९० माइल प्रतिघण्टा रेकर्ड गरिएको बताए। अमेरिकाको आर्थिक राजधानी न्युयोर्कका भूमिगत मार्ग र सुरुङमा बाढी पसेको छ। यसले त्यहाँको भूमिगत मार्ग र सुरुङ मार्ग निकै दिन बन्द हुने अनुमान छ। सडक र रेल यातायात, पुल र एयरपोर्ट बन्द भएका छन्। न्युयोर्कका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छ। न्युयोर्कको मेट्रोपोलिटन ट्रान्सपोर्टेसन अथारिटीले भूमिगत मार्ग र सुरुङ मार्गमा भरिएको पानी निकालेर यातायात सुचारु गर्न १४ घण्टादेखि चार दिनसम्म लाग्नसक्ने जनाएको छ।
स्यान्डीका कारण भर्जिनियादेखि मेनसम्मका उत्तरपूर्वी १३ राज्यका ७० लाखभन्दा बढी अन्धकारमा बस्न बाध्य भएका छन्। न्युयोर्कको म्यानहटनदेखि वेस्टचेस्टर काउन्टीलगायत क्षेत्रमा बन्द भएको विद्युत आपूर्तिबाट नै छ लाख ५० हजारभन्दा बढी प्रभावित भएका छन्। न्युयोर्क विश्वविद्यालय अस्पतालमा विद्युत आपूर्ति बन्द भएको र जेनेरेटर समेत आँधीबाट प्रभावित भएपछि त्यहाँबाट २६० बिरामीलाई अन्यत्र सारियो। अन्य बिरामीलाई समेत अन्य अस्पतालमा सार्न थालिएको छ।
विद्युत आपूर्ति ठप्प भएपछि आँधी प्रभावित उत्तरपूर्वी राज्यमा मोबाइल, इन्टरनेट र तारसहितका टेलिफोनलगायत सञ्चार सेवा मंगलबार अवरुद्ध भएको छ। दूरसञ्चार कम्पनीका कार्यालयसहित जेनेरेटर र ब्याट्री समेत बाढीमा डुबेकाले सञ्चार सेवा अवरुद्ध भएको कम्पनीले जनाएका छन्।
अमेरिकाको पुँजी बजार सोमबार र मंगलबार बन्द भयो। यसअघि सन् २००१ सेप्टेम्बर १ मा न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणका बेला मात्र अमेरिकी पुँजी बजार बन्द भएको थियो। वासिङटनमा प्रशासनले मंगलबार सरकारी कार्यालय र विद्यालय बिदा दिएको छ।
Photo : AP

Leave a Reply

Your email address will not be published.