एमाले चियागफमा नेताहरुद्वारा चाँडै सहमति गर्ने प्रतिबद्धता (फोटो फिचर)

काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरूले राजनीतिक गतिरोधको निकासका लागि दलरुबीच दुई दिनभित्रै सहमति हुने विश्वास व्यक्त गरेका छन्। नेताहरूले नयाँ निर्वाचनमा जान आवश्यक तयारी गर्दै सहमति गर्नेबारे छलफल भइरहेको जानकारीसमेत दिए। नेकपा एमालेले बडादसैं, तिहार, छठ, इद तथा नेपाल सम्वतका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीद्धारा सोधिएको जिज्ञासामा एनेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहालले पर्सीसम्म मुलुकले राजनीतिक निकास पाउने विश्वास ब्यक्त गरे। उनले निकासका लागि आज बिहान शीष नेताहरूबीच छलफल भएको र पर्सी पनि छलफल हुने जानकारी दिए। पर्सीसम्ममा कसरी सहमति बन्न सक्छ भन्ने प्रश्नमा अध्यक्ष दाहालले थप प्रतिक्रिया दिन चाहेनन्।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालालले सहमति र सहकार्य गरेरै मुलुकलाई निकास दिनुपर्ने भएको भन्दै त्यसका लागि वर्तमान सरकारले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए। उनले मुलुलाई निकास दिन सहमतिबाटै निर्वाचनमा जाने विकल्प उपर्युक्त हुने पनि बताए। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले देश अहिले अत्यन्त चुनौतीको घडीमा रहेको जनाउँदै यसबाट पार लगाउन दलहरूबीच सहमति गर्नुको विकल्प नभएको बताए। नयाँ निर्वाचनका लागि सहमतिमा जानुपर्छ भन्दै उनले आजको चियापानले पनि सहमतिको यात्रालाई प्रेरित गरेको उल्लेख गरे। निर्वाचनमा जानका लागि सरकारले राजीनामा दिएर मार्गप्रशस्त गरी राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा उनले जोड दिए।
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आज बिहान भएको दलहरूको बैठकमा आफूले निकासका लागि विभिन्न सात बुँदा प्रस्तुत गरेको जानकारी दिँदै जुनसुकै सहमति गरेमा पनि त्यसको कार्यान्वयनका लागि नयाँ सरकार गठन हुनुपर्ने विषय प्राथमिक भएको बताए। नेता नेपालले भने, ‘संविधानका विवादित विषयमा सहमति भएसम्मका आधारमा संविधान जारी गर्ने र सहमति नभएका विषयलाई पछि छलफल गर्दै जान सकिनेछ।’ उनले थपे, ‘राष्ट्रिय सहमतिको नयाँ सरकारले बजेट र निर्वाचन तयारी गर्ने विकल्प हामीले प्रस्तुत गर्‍यौं। विपक्षी दलहरुलाई अल्मल्याउने दउपेच गरेर यही सरकारबाट बजेट ल्याउने काम मान्य हुँदैन पनि भन्यौं।’ रासस प्रदीपराव वन्तले खिचेका तस्बिर हेर्नुस् :

Leave a Reply

Your email address will not be published.