भारतका नयाँ मन्त्रीहरु ६० वर्ष मुनिका

नयाँ दिल्ली, रोयटर्स– भ्रष्टाचारको दलदलमा भासिएको सरकारको छवि सुधार्ने प्रयासस्वरुप भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आइतबार मन्त्रिमण्डलमा हेरफेर गरेका छन्। हेरफेरमा प्रधानमन्त्रि सिंहले सात जनालाई क्याबिनेट मन्त्री बनाएका छन् भने भ्रष्टाचार विवादमा मुछिएका कानुन मन्त्री सलमान खुर्सिदलाई विदेश मन्त्रालयको जिम्मा दिएका छन्। सातमध्ये ए रहमान खान र चन्द्रेशकुमारी कटोच मन्त्रीका रुपमा नयाँ अनुहार हुन्। चार मन्त्रीमा दिनसा पटेल, अजय माकन, एमएम पल्लम राजु र हरीश रावत छन्। शनिबारसम्म आनन्द शर्मा वा करण सिंहमध्ये एक विदेश मन्त्रीमा नियुक्त हुने चर्चा थियो।
प्रधानमन्त्रि सिंह र कं ग्रेस अध्यक्ष श्रीमती सोनिया गान्धीले दुई महिनादेखि मन्त्रिमण्डलमा हेरफेर गर्ने पहल गरिरहेका थिए। आइतबारको हेरफेरमा पार्टी महासचिव राहुल गान्धी निकट युवाको वर्चस्व देखिएको छ। सन् २०१४ मा हुने लोकसभा र विधानसभाका लागि हुने चुनावअघि सरकारको छवि परिवर्तन गर्ने उद्देश्यले मन्त्रिमण्डलमा हेरफेरको गरिएको हो। आगामी निर्वाचनमा बहुमत ल्याई तेस्रोपल्ट सत्ता सम्हाल्ने कंग्रेसको योजना अनुरुप प्रधानमन्त्रि सिंहले मन्त्रिमण्डलमा हेरफेर गरेका हुन्।
मन्त्रिमण्डल विस्तारमा आन्ध्र प्रदेशबाट पाँच जनालाई समावेश गरिएको छ। सरकारमा यसअघि सामेल पाँच जना सहित अब आन्ध्र प्रदेशबाट मन्त्रिमण्डलमा पर्नेको संख्या १० पुगेको छ।
आइतबार राज्यमन्त्री नियुक्त कंग्रेस पार्टी प्रवक्ता मनिष तिवारी, दक्षिण भारतका सुपरस्टार के चिरन्जीवीसहित के सुरेश, तारिक अनवर, केजे प्रकाश, रानी नारा, एएच खान चौधरी र अधीररञ्जन चौधरीलगायत १३ राज्य मन्त्रीले राष्ट्रपति प्रणव मुखर्जी समक्ष शपथग्रहण गरेका छन्।
इन्डियन प्रिमियर लिगको एक टोली कोच्चीसँग जोडिएको विवादका कारण मन्त्रिमण्डलबाट राजीनामा गरेका शशि थरुर मानव संशाधन मन्त्रीका रुपमा सरकारमा फर्किएका छन्। दीपा दासमुन्सी र अरुणाचल प्रदेशबाट निनाङ एरिङले राज्य मन्त्रीको शपथ गरेका छन्।
एम वीरप्पा मोइली, जयपाल रेड्डी, कमलनाथ, वाइ रवि, कपिल सिब्बल, सिपी जोशी, कुमारी शैलजा, पवनकुमार बंसल र जयराम रमेशको जिम्मेवारी परिवर्तन गरिएको छ।
मन्त्रिमण्डल हेरफेरअघि मन्त्रीको राजीनामा लहर चलेको थियो। शुक्रबार विदेशमन्त्री एसएम कृष्णाबाट सुरु भएको राजीनामाको लहर शनिबार छ मन्त्रीले राजीनामा दिएपछि रोकिएको थियो। राजीनामा दिनेमा सूचना प्रशारणमन्त्री अम्बिका सोनी, सामाजिक न्यायमन्त्री मुकुल वासनिक, पर्यटन मन्त्री सुबोधकान्त सहाय, राज्यमन्त्री महादेवसिंह खन्डेला, जल संशाधन र अल्पसंख्यक राज्यमन्त्री भिन्सेन्ट पाला र ग्रामीण विकास राज्यमन्त्री अगाथा संगमाले राजीनामा गरेका थिए।
प्रधानमन्त्री सिंहले मन्त्रिमण्डल विस्तारपछि कंग्रेस महासचिव राहुल गान्धीलाई सरकारमा सामेल गर्न चाहेको बताए। प्रधानमन्त्रि सिंहका अनुसार महासचिव गान्धी पार्टी संगठनको काम गर्न इच्छुक भएकाले मन्त्री बनेनन्। गान्धीलाई मानव संशाधन मन्त्री बनाइने चर्चा थियो। अब उनलाई पार्टीको कार्यकारी अध्यक्ष बनाइने चर्चा छ।
नयाँ मन्त्रीहरू
के रहमान खान अल्पसंख्यक मन्त्री
दिनसा जे पटेल खानी मन्त्री
अजय माकन आवास तथा शहरी गरिबी निवारण मन्त्री
एमएम पल्लम राजु मानव संशाधन विकास मन्त्री
अश्विनीकुमार कानुन तथा न्याय मन्त्री
हरीश रावत जल संशाधन मन्त्री
चन्द्रेश कुमारी कटोच संस्कृति मन्त्री
राज्यमन्त्री
मनीष तिवारी सूचना तथा प्रशारण राज्यमन्त्री
के चिरन्जीवी पर्यटन राज्यमन्त्री
शशि थरुर मानव संशाधन राज्यमन्त्री
के सुरेश श्रम तथा रोजगार राज्यमन्त्री
तारिक अनवर कृषि तथा खाद्य प्रशोधन उद्योग राज्यमन्त्री
केजे सूर्यप्रकाश रेड्डी रेल राज्यमन्त्री
रानी नारा जनजाति राज्यमन्त्री
एएच खान चौधरी स्वास्थ्य र परिवार कल्याण राज्यमन्त्री
सर्वे सथ्यनारायणा सडक यातायात तथा राजमार्ग राज्यमन्त्री
निनाङ एरिङ अल्पसंख्यक मामिला राज्यमन्त्री
दीपा दासमुन्सी शहरी विकास राज्यमन्त्री
पोरिका बलराम नाइक सामाजिक न्याय तथा सशक्तिकरण राज्यमन्त्री
किल्ली क्रुपारानी सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री
लालचन्द कटारिया रक्षा राज्यमन्त्री

Leave a Reply

Your email address will not be published.