दलहरूले आफ्नो वैमनस्य र अविश्वास छाडून् : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले आपसी सद्भाव र सामाजिक अङ्गको चाड बडादसैँ तथा विजयादशमी २०६९ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति डा यादवले विजयादशमी २०६९ को अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने दसैँजस्ता पर्वलाई हामीले सांस्कृतिक र धार्मिक रूपमा मात्र नहेरी साझा राष्ट्रिय सम्पदाको दृष्टिबाट समेत बुझ्नु, बुझाउनु र संरक्षण गर्नु समयोचित हुने बताए।

यस्ता चाड पर्वको संरक्षणबाट एकातिर हाम्रो राष्ट्रिय पहिचानलाई विशिष्टता र मौलिकता प्रदान गर्न मद्दत पुग्छ भने अर्कातिर यसबाटै आर्थिक अवसर पनि सिर्जना गर्न सकिन्छ भन्दै राष्ट्रपति डा यादवले हाम्रा धार्मिक र सांस्कृतिकस्थल तथा पर्वपरम्परा पर्यटन उद्योगको मुख्य आधार एवम् आकर्षकका रूपमा स्थापित हुँदै जानुले सांस्कृतिक सम्पदाको आर्थिक उपयोगितालाई छर्लङ्ग पारेको उल्लेख गरेका छन्।

शुभकामना सन्देशमा राष्ट्रपतिले शान्ति प्रक्रियामा अपेक्षित उपलब्धि हासिल हुँदाहुँदै पनि संविधान निर्माणलगायत कुरामा गतिरोध पैदा भई राजनीतिक सङ्क्रमणको घडी लम्बिनु मुलुककै निम्ति खिन्नताको विषय बनेको छ भन्दै प्राप्त उपलब्धिको जर्गेना गर्दै नयाँ संविधान निर्माणलगायत जनआकाङ्क्षा पूरा गर्नका लागि पुनः कम्मर कसेर अघि बढ्नु आज हाम्रा सामु रहेको एक मात्र विकल्प हो भनेका छन्।

राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन्- राजनीतिक प्रयत्न जति नै असफल भए पनि लोकतान्त्रिक संविधान पाउने नेपाली जनताको आकाङ्क्षा र अधिकार कसै गरी पनि खण्डित र कुण्ठित हुन पाउने छैन र नेपाली जनताको अग्रगमनतर्फको यात्रा निरन्तर रूपमा अगाडि नै बढ्ने कुरामा म विश्वस्त छु।

जननिर्वाचित संस्थाबाट नयाँ संविधानको निर्माण नगरिएसम्म देशले सङ्क्रमणकालीन अवस्थाबाट मुक्ति पाउन सक्ने अवस्था नभएकाले हामी सबैले संविधान निर्माणको कुरालाई मूल लक्ष्य बनाई अघि बढ्नु आजको खाँचो भएको उल्लेख गर्दै राष्ट्रपतिले यसनिम्ति विशेषतः राजनीतिक दलहरूले आफ्नो वैमनश्य र अविश्वासको सट्टा सौहार्द्रता, सहकार्य र सहमतिको संस्कारलाई कम्तीमा पनि उपर्युक्त लक्ष्य प्राप्त नहुँदासम्म आत्मसात् गर्नेछन् भन्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति डा यादवले आफ्नो शुभकामना सन्देशमा ऐतिहासिक जनआन्दोलनका महत्वपूर्ण उपलब्धिको जगेर्ना गर्दै समृद्ध नेपाल निर्माणको दिशामा लागिरहन दुर्गाभवानीले हामी सबैलाई आशिष दिऊन् भन्ने कामना पनि गरेका छन्।

यसै उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान नेपाली जनताको अन्तरमनको चाहनाका रूपमा रहेको उल्लेख गरेका छन्।

विगतका वर्षको अनुभवले यो कार्यको परिपूर्ति राष्ट्रिय सहमति र सहकार्यबाट मात्रै हुन सक्ने भएकाले नेपालीलाई एकताबद्ध गर्दै सहमति र सहकार्यको बाटामा अघि बढ्न भगवती दुर्गाले प्रेरणा प्रदान गरुन् भनी शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published.