बिन्दवासिनी मन्दिरमा भक्तजनको घुइँचो

वीरगन्ज, कात्तिक ७- शक्तिपीठको रूपमा विख्यात पर्साको ऐतिहासिक बिन्दवासिनी माई मन्दिरमा आज महानवमीका दिन बिहानैदेखि पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ। माई मन्दिरमा बलि चढाउन भाकल गरिएका बोका र पक्षी लिएर सहरका मात्र नभई मन्दिरमा गाउ“गाउँबाट आउने श्रद्धालुको यहाँ घुइँचो लागेको छ। 
मन्दिर वरिपरि गुन्जिन थालेको परम्परागत मौलिक सांस्कृतिक बाजा र पसल थापेर व्यवसाय गर्नेको भीडले बिन्दवासिनी माई मेलाको रौनक बढेको छ। प्रत्येक वर्ष बडादसैँको महानवमीका दिन यहा“ ठूलो मेला लाग्ने गरेको छ।

यस मेलामा माईको मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनले हातमा प्रसादस्वरूप नरिवल, लड्डु र फूलमालासँगै माईलाई ओढाउने चुन्दरी लिएर ‘बिन्दवासिनी माईकी जय’ भन्दै मन्दिरमा प्रवेश गर्छन् र माईको दर्शन एवम् पूजाअर्चना गर्ने गर्छन्।

मेलालाई दृष्टिगत गरेर बिन्दवासिनी माईको मन्दिरलाई बेहुलीझैं सिङ्गारिएको छ। पूजाअर्चना गर्न तथा मेला हेर्न आउने भक्तजनको सुविधा तथा सुरक्षालाई दृष्टिगत गरेर उच्च सतर्कता अपनाइएको छ। सुरक्षाका लागि स्थानीय युवा क्लबका स्वयम्सेवक तथा सुरक्षाकर्मीलाई व्यापकरूपमा परिचालन गरिएको छ।

पूजाअर्चना तथा मेलामा आउने दर्शनार्थीको सुविधाका लागि पानी, बत्ती र सञ्चारलगायतका विविध सुविधा पर्याप्त मात्रामा मिलाइएको बिन्दवासिनी माई पूजा समितिले जानकारी दिएको छ।

मेलाको रौनकले भरिएको बिन्दवासिनीमा ठेलमेल गर्दै आम नागरिकले आफ्नो गन्तव्य छिचोल्नुपरेको छ। साइकल, मोटरसाइकल, ट्रयाक्टर, जीप, बस र टेम्पो आदि सवारी साधनबाट आउने त छँदैछ, त्यसमा पनि टाढाटाढाका गाउँघरबाट ५,६ घन्टासम्म पैदल हिँडेर मेला हेर्न आउनेको ओइरो हुन्छ– बिन्दवासिनी माईको मेलामा।

पर्सा जिल्ला र सीमावर्ती भारतीय जिल्लाका विभिन्न ठाउँबाट श्रद्धालु भक्तजन बिन्दवासिनी माईको दर्शन र भाकलका पशुपक्षी चढाउन यहाँ आउँछन्। नेपाल र भारतबीचमा सदिऔँदेखिको स्थापित सांस्कृतिक, धार्मिक र समाजिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन यस मेलाले एउटा सांस्कृतिक सेतुको काम गरिरहेको धारणा स्थानीय बुद्धिजीवीको छ। रासस

Leave a Reply

Your email address will not be published.