भूतमेला सुरु

महोत्तरी- महोत्तरी जिल्लाको सोनामाई शक्तिपीठमा आजदेखि भूतमेला सुरु भएको छ। सोनामाई गाविस– ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ। हरेक वर्ष बडादसैँको सप्तमीदेखि सोनामाईमा भूतमेला लाग्छ। सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्छ। भूत प्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्छन्। सोनामाईको कृपाले यहाँबाट निको भएर जाने गरेको सर्वसाधारण बताउँछन्।

वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरू सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै को कसबाट सताइएको भनी आफैं भन्न थाल्छन्। देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै रुँदैहाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने र दरबारमा पुगेका पीडितहरू माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको पुजारी नवल म्काले बताए।
मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौँडादेखि भारतका पटना सहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको स्थानीयवासी वीरेन्द्र यादवले बताउभयो। घरघरमा भूतप्रेतले रातदिन दुःखी र पीडित भएका कारनी (पीडित) हरू आआफ्ना घरबाट रुँदै कराउँदै यहाँ आउने र सोनामाई शक्तिपीठबाट पीडामुक्त भई हाँस्दै जाने गरेको झाँक्रीहरूले बताए।
सोनामाई शक्तिपीठमा थुप्रै झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन्। माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै भूतप्रेत र बोक्साबोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा छ। रासस

Leave a Reply

Your email address will not be published.